Date:2017/11/23 |Thursday

साँझमा गुञ्जिए कुमार सानु

Posted on: July 17, 2017 | views: 51 |

काठमाडौं । भारतीय चर्चित गायक कुमार सानु शनिबार साँझ काठमाडौंमा हजार बढी दर्शकको साथ गुञ्जिएका छन् । पाँचतारे होटल याक एण्ड एतिमा साँझ ७ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा सानुले डेढ दर्जन बढी गीत सुनाएका थिए । जसमा उनले गाएका नेपाली चर्चित गीत पनि सुनाएका थिए । 

मुन्टेज इन्टरनेसनलको व्यवस्थापनमा भएको कार्यक्रममा १५ सय दर्शकहरू उपस्थित थिए । २५ वर्षपछि नेपाल आएका सानुले नेपालको तारिफ पनि गरे । नेपाल निकै सुन्दर लाग्ने र आइरहने मन लागेको बताएका थिए । कार्यक्रममा सानुसँगै देविका वन्दना, सुगम पोखरेल, स्मिता घिमिरे, कमलमान सिंह लगायतले पनि प्रस्तुति दिएका थिए । साथै कुमार सानुलाई नेपाली गीत गाउनमा नेपालका चर्चित गायक शम्भुजित बास्कोटाले सघाएका थिए । कुमारले नेपाली गीत गाउँदा शब्द उच्चारणमा केही अस्पष्ट हुँदा शम्भुजितले मिलाइदिएका थिए । साथै कुमारले शम्भुजित निकै राम्रो गायक भएको भन्दै उनको प्रशंसा पनि गरेका थिए । ‘कुमार सानु लाइभ इन कन्सर्ट’ नाम दिइएको उक्त कार्यक्रम हास्य कलाकार जितु नेपाल र नायिका निशा अधिकारीले होष्ट गरेका थिए । जितुले हास्य शैलीमा ‘एक लड्कीको देखा तो ऐसा लगा, आपको नेपाल कैसा लगा’ भन्दै गर्दा कुमारले नेपाल आफूलाई निकै मन पर्ने बताएका थिए । कुमारले जितुलाई प्रशंसा गर्दै दुईपटक सम्म निधारमा चुम्बन पनि गरेका थिए ।

कन्सर्ट सकिएलगत्तै कुमारलाई आयोजकको तर्फबाट गौतम बुद्ध भएको चिनो र नेपाली ढाका टोपी उपहार दिइएको थियो । कार्यक्रम स्वेताश्री फाउन्डेसनको सहयोगार्थ आयोजना भएको हो । फाउन्डेसनले सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको थालनी गरेको छ । यही बस्ती निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । नेपाल र भारतबीच प्रगाढ सम्बन्ध स्थापना र पर्यटन विकासका लागि कन्सर्ट गर्न लागिएको आयोजकले जनाएको छ । कन्सर्टमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी, डा. भोला रिजाल, संगीतकार शम्भुजित बास्कोटा, अभिनेता सरोज खनाल, रंगकर्मी सुनिल पोखरेललगायतका कलाकर्मी सहभागी थिए । कुमारले सन् १९९३ मा २८ वटा गीत एकैदिन रेकर्ड गराएर गिनिज बुकमा नाम लेखाइसकेका छन् । २० हजार बढी गीत गाएका उनले थुप्रै नेपाली गीत पनि गाएका छन् । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।   

साथै आइतबार कुमारले काठमाडौंको चन्द्रागिरि हिल्स भ्रमण गरेका छन् । भ्रमणको  क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृश्यहरूको पनि अवलोकन गरेका थिए । कुमारलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । कुमारले चन्द्रागिरि भ्रमण गरेपछि स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुसी भएको बताएका थिए । 



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं