Date:2017/12/15 |Friday

पत्याएन अमेरिकाले

Posted on: August 04, 2017 | views: 55 | गोपिकृष्ण चापागाईं

काठमाडौं । विश्वकै ठूलो विकसित देश अमेरिका भनेपछि नेपालीहरू हुरुक्कै हुने गर्छन् । नेपाली नागरिकका लागि अमेरिकाजस्तो देश सपनाको देश हुन्छ । त्यो देश जान पाए त संसार नै अर्कै हुन्छ भन्ने ठान्ने गर्छन् । यस्तै अमेरिका नेपाली कलाकारहरूका लागि पनि सपनाको देशजस्तै बन्ने गर्छ । अमेरिका जानका लागि कलाकार भइसकेपछि धेरै सहज हुन्छ भनेर कतिले प्रशस्त पैसा कलाकारितामा खनाएर पनि कलाकार बनेको पाइन्छ । कति कलाकारले भन्ने पनि गरेका छन्– ‘पैसा हुनेहरू दुई चारवटा फिल्ममा पैसा खनाउँछन् अनि विदेशतिर त्यही फिल्मको निउले जान्छन् र त्यतै बस्छन् ।’, यस्तो भनाइ नेपाली कलाकारहरूको गु्रपभित्रै पनि सुन्ने गरिन्छ । 

कलाकारिता क्षेत्रबाट देशलाई ठूलो योगदान पु¥याएको र कलाकारितामा धेरै समय बिताएका व्यक्तिलाई अमेरिकाले भिसा दिन्छ भन्ने भनाइ पनि पछिल्लो समय गलत हुँदै आएको छ । यदि यही भनाइलाई मान्ने हो भने कतिपय कलाकार जो वर्षौंंसम्म कलाकारिता पेशामा आबद्ध छन् उनीहरूलाई भिसा पटक–पटकसम्म पनि दिएको छैन । तर कतिपय कलाकार जो केही वर्ष मात्र कलाकारितामा भिजेका हुन्छन् उनीहरूलाई सहजै दिएको पनि पाउँछौं ।

नेपाली कलाकारहरू अमेरिका गइसकेपछि कार्यक्रम सकेर नेपालमै फर्किऊन् भन्ने अमेरिकाको चाहना हुन्छ तर केही कलाकारहरू अमेरिका गइसकेपछि त्यहीँ पलायन भइदिने हुनाले पछिल्लो समय अमेरिकाका लागि झनै कठिन हुँदै पनि गएको छ । थुपै्र नेपाली कलाकारहरू जो कार्यक्रमकै शिलशिलामा अमेरिका जाने र नेपाली नफर्किने गरेका पनि छन् ।

यस्तै केही वर्षअघि सम्मको कुरा गर्ने हो भने कलाकारिता क्षेत्रमा लामो समय बिताइसकेकी गायिका कोमल वलीलाई अमेरिकाले भिसा दिन सकेको छैन । कोमलले आफूलाई के कारणले भिसा दिएको छैन त्यो आफैंले नबुझेको बताउँदै पनि आएकी छिन् । ‘मैले यही कारणले भिसा पाएकी छैन भन्ने अझै बुझ्न सकेकी छैन’, कोमलले भनेकी थिइन् । अविवाहितले भिसा पाउँदैनन् रे भन्ने भनाइलाई उद्धित गर्दै कोमल भन्छिन्, ‘अविवाहितकै कारणले नपाएको भन्ने त थाहा छैन तर तपार्इं विवाहित कि अविवाहित भनेर सोध्दा म अविवाहित पनि भनेकी थिएँ । सायद त्यही कारणले पनि हो कि ।’

यस्तै अविवाहितकै कारणले नदिएको भन्ने हो भने कतिपय कलाकार जो अविवाहित भएर पनि अमेरिकाको भिसा पाएका छन् । गतवर्षकै कुरा गर्ने हो भने पनि हास्य टेलिशृंखला ‘भद्रगोल’ का दुई कलाकार सागर लम्साल र हरि निरौलाले भिसा पाए । उनीहरू अमेरिकाको विभिन्न ठाउँको कार्यक्रम सकेर नेपाल फर्किसकेका पनि छन् । 

यता अभिनेता आर्यन सिग्देल जो नेपालका निकै चर्चित अभिनेताको रूपमा चिनिन्छन् तर उनलाई पाँचौंपटक सम्म पनि अमेरिकाले पत्याउन सकेन । आर्यनलाई गएको बुधबार पाँचौंपटक पनि अमेरिकन दूतावासले फर्काएको हो ।

अमेरिकाको कोलोराडोमा हुन गइरहेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागिता हुनका लागि दर्जनभन्दा बढी कलाकारहरूले भिसाको आवेदन दिएका थिए तर कतिले पाए भने कतिले पाउन सकेनन् जसमा आर्यनसहित अन्य आधा दर्जन बढी कलाकारहरूले भिसा पाउन सकेनन् । नेपाल फिल्म सोसाइटीले अमेरिकामा आयोजना गर्दै आएको यो अवार्डका लागि कलाकार र प्राविधिकसहित करिब ४० जनाको टोली यही ३० गते अमेरिका उठ्दैछन् । २० विधामा कलाकार तथा प्राविधिकलाई अवार्डमा पुरस्कार प्रदान गरिनेछ । उही अवार्ड समारोहमा जानका लागि भिसा आवेदन गरेका कलाकारहरू अभिनेत्री सुरबिना कार्की, अभिनेता आयुष रिजाल, कोरियोग्राफर कविराज गहतराज, गायक तथा संगीतकार तारप्रकाश लिब्बु अमेरिकन दूतावासबाट रित्तो हात फर्किनु प¥यो । अवार्डका लागि दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, रविन्द्र खड्का, अनमोल केसी, शंकर बिसी, पार्वती राई, शिव परियार, सञ्चिता लुईंटेललगायतको भिसा लागेको छ । दोस्रोपटकमा भिसा पाएकी मोडल पार्वती राईले भिसा पाउनुको कारण के रहेछ भन्ने हिमालय टाइम्सको प्रश्नमा भन्छिन्, ‘भिसा यही तरिकाले पाउन सकिन्छ भन्ने त होइन तर पनि कलाकार भइसकेपछि कुन तरिकाले प्रस्तुत भएको छ त्यो पनि धेरे ख्याल गरिन्छ जस्तो लाग्यो । किनकि हामी यो साधारण कुरा त हो अन्तर्वार्ता साधारण हुने त हो भन्ने ठान्छौं त्यही कुराले पनि भिसा पाउन गाह्रो हुन्छजस्तो लाग्छ । साथै आफू त्यहाँ प्रस्तुत हुँदा आफू भित्र ‘कन्फिडेन्ट’ हुनु मुख्य कुरा हो जस्तो लाग्यो मलाई ।’

नेपाली चलचित्रलाई अमेरिकासहित अन्य मुलुकमा प्रदर्शनको गन्तव्य थलो बनाउन, फिल्म पर्यटनको विकास गराउँदै नेपाल पनि सुटिङका लागि राम्रो गन्तव्य हो भन्ने सन्देश दिन फिल्म सोसाइटीले अमेरिकामा अवार्डको आयोजना थालेको हो ।

अमेरिकाका लागि फिल्म सोसाइटीभन्दा बाहिरबाट भिसा आवेदन गरेकी अभिनेत्री अनु शाह, गायक प्रकाश कटुवाल, हास्य कलाकार मरिचमान श्रेष्ठ, राजु मास्टरले पनि भिसा पाउन सकेनन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं