Date:2017/10/21 |Saturday

गाईजात्रामा ट्रम्प बने मनोज

Posted on: August 09, 2017 | views: 51 | गोपिकृष्ण चापागाईं

काठमाडौं । यस वर्षको गाईजात्रा मंगलबारबाट सुरु भएको छ । हास्य कलाकारहरुको पर्व भनेर चिनिने गाईजात्रा मंगलबार राजधानीका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम भए । साथै मंगलबार साँझबाट नै प्रज्ञाभवनमा गाईजात्रा शो सुरु भएको छ । मंगलबारबाट १२ दिनसम्म चल्ने उक्त गाईजात्रामा नेपालका चर्चित हास्यव्यंग्य कलाकारहरुको विशेष प्रस्तुति रहनेछ ।

वर्षेनी चर्चामा रहेका फरकफरक व्यक्तिहरुको क्यारिकेचर गरेर दर्शकको मन जितेका मनोज गजुरेलले यसपटक भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेका छन् । मंगलबार गाईजात्रा सुरु हुनुअगावै हिमालय टाइम्ससँग कुरा गर्दै मनोजले यसपटक विश्वभरि नै चर्चामा रहन सफल भएका डोनाल्ड ट्रम्पको गेटअपसहितको क्यारिकेचर गर्ने बताए । ‘मैले यसपटक अलि फरक सोचेर ट्रम्पको क्यारिकेचर गर्ने जमर्को गरेको छु । मेरो कथामा ट्रम्प नेपाल आएर पत्रकार ऋषि धमलासँग वार्ता गरिरहेका हुन्छन् । ट्रम्पले नेपाललाई ‘नेफाल’ भनेका हुन्छन् र त्यसको अर्थ बुझाएका हुन्छन्’, मनोजले भने । साथै मनोजले ट्रम्पसहित अन्य शीर्ष नेताहरुको पनि क्यारिकेचर गर्नेछन् ।

यस्तै योपटकको गाईजात्रामा हास्य कलाकार जितु नेपाल र राजा राजेन्द्र हुने छैनन् । उनीहरुको देशबाहिरको कार्यक्रम परेकाले गाईजात्रामा सहभागी हुन नसकेका हुन् । जितुले आफू अमेरिकाको एक अवार्डका लागि जानुपर्ने भएकोले अवार्डमा सहभागी हुन नसकेको बताएका छन् । ‘गाईजात्राको बीचमै छोडेर जानु उपयुक्त नलागेर मैले योपटक पूरै गाईजात्रामा सहभागी नहुने निर्णय लिएको हुँ । हामी केही साथीभाइ अनुपस्थित भए पनि गाईजात्रा भव्य हुनेछ सबै दर्शकलाई गाईजात्रा हेर्न आउन आग्रह गर्दछु’, जितुले भनेका छन् । यस्तै विगत धेरै वर्षदेखि कार्यक्रम उद्घोष गर्दै आएका राजाराजेन्द्र पनि युरोपको कार्यक्रमका लागि मिति तय भइसकेकोले यसपटकको गाईजात्रामा सहभागी हुन नपाएको बताए । ‘म युरोपको १३ दिने कार्यक्रमका लागि जानुपर्ने भएकोले यसपटक गाईजात्रामा सहभागी हुन नपाएको हुँ’, राजाराजेन्द्रले भने । उनले ३ वर्ष सभागृह र अर्को ३ वर्ष प्रज्ञाभवन गरी विगत ६ वर्षदेखि गाईजात्रा कार्यक्रम उद्घोष गर्दै आएका थिए ।

विगतका वर्षमा हास्य टेलिशृंखला ‘जिरे खुर्सानी’ को टिमबाट प्रदर्शन गर्ने शिवहरि पौडेल, किरण केसी यसपटक हास्य टेलिशृंखला ‘ब्रेकफेल’ को तर्फबाट प्रस्तुत हुँदैछन् । ‘हामी अहिले ब्रेकफेलको तर्फबाट प्रस्तुत भए पनि जिरे खुर्सानीबाटै प्रस्तुत भएजस्तै हो । किनकि अहिले जिरे खुर्सानीको सम्पूर्ण टिम ब्रेकफेलमा छौं’, शिवहरिले भने । उनले आफ्नो ‘प्वाक्क मुखामा हान्नु जस्तो’ थेगोलाई अझै पनि दर्शकले बिर्सन नसक्नु भएको र आफूप्रतिको यतिधेरै माया दिनुभएको भन्दै धन्यवाद पनि दिए । साथै उनले सधंै एउटै तरिकाले अभिनयमा मात्र देखिनु पनि राम्रो नहुने भन्दै ब्रेकफेल टेलिशृंखलाबाट नयाँ भूमिकामा आएको बताए ।

त्यस्तै किरण केसीले पनि आफूहरुको विगत दशकभन्दा बढी समयदेखिको दर्शकलाई हँसाएरै आएको र अबका आगामी दिनमा पनि सधंै त्यसरी नै हँसाइराख्ने बताए । ‘हामी हास्य कलाकारहरु दर्शकलाई हँसाउने काम गर्छौं, त्यसैले वर्षमा एकपटक आउने गाईजात्रा पनि भव्यताका साथ सम्पन्न पार्ने जमर्कोमा छौं’, किरणले भने । साथै गतवर्ष जितु नेपालसँग मिलेर प्रशहन गरेका दमन रूपाखेतीले यसवर्ष जितुलाई मिस गरेको बताए । साथै दमनले अर्को वर्ष पनि पुनः जितुसँग प्रहशन गर्ने प्रतिबद्धता जनाए ।

कलाकार दीपकराज गिरी, दिपाश्री निरौला, शैलेन्द्र सिम्खडा, शिवहरि पौडेल, किरण केसी, सुरेन्द्र केसी, दमन रुपाखेती, जोगिन्दर, सुबोध गौतम लगायतको प्रस्तुति रहनेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं