Date:2017/12/14 |Thursday

रश्मिलाई विशेष सम्मान

Posted on: August 13, 2017 | views: 83 |

काठमाडौं । वर्षभरिमा सार्वजनिक भएका नेपाली गीतमध्ये उत्कृष्ट छानेर विभिन्न संघसंस्थाहरुले अवार्ड दिने गर्छन् । वर्षमा म्युजिक क्षेत्रका अवार्ड मात्रै पनि करिब चारभन्दा बढी संस्थाहरुले दिँदै आएका छन् । जसमध्ये विगत तीनवर्षदेखि म्युजिक अवार्ड गर्दै आएको संस्था हो ‘सुन्दरादेवी सन्देश साप्ताहिक’, जुन नुवाकोट जिल्लाबाट सञ्चालित छ । नेपाली लोक तथा आधुनिक गीतको क्षेत्रमा वर्षभरि सार्वजनिक भएका गीत, गीत गाउने गायक, श्रष्टामध्ये उत्कृष्ट छानिने गरिन्छ । 

जम्मा २८ विधामा प्रदान गरिएको ‘तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड–२०७४’ मा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको थियो तर बास्कोटा अनुपस्थित भएपछि उनलाई थ्याङ्स सेरेमनिमा सम्मान गरिने बताइएको छ । धादिङ जिल्लास्थित ओम शान्ति चलचित्र मन्दिर हलमा शुक्रबार भएको सो अवार्ड समारोहमा कलाकारहरुको संख्या निकै कम देखिन्थ्यो । समारोहमा चलचित्र क्षेत्रकी चर्चित नायिका सञ्चिता लुर्इँटेल अतिथिको निमन्त्रणा स्वीकार्दै पुगेकी थिइन् ।

वर्ष ०७३ मा सार्वजनिक भएका लोक तथा आधुनिक गीतहरुमध्ये आधुनिकतर्फको गायकमा कृष्ण काफ्लेले उत्कृष्टको अवार्ड थापे भने गायिकातर्फ सहिमा श्रेष्ठले अवार्ड हात पारिन् । त्यस्तै लोक गीततर्फबाट उत्कृष्ट गायकमा मौसम गुरुङ र गायिका भूमिका गिरीले अवार्ड पाए । त्यस्तै, नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश साप्ताहिक पत्रिकाले आयोजना गरेका कारण नुवाकोटकी नायिका तथा मोडल रश्मी तामाङलाई विशिष्ट सम्मान गरिएको थियो । उनलाई ३३ हजार ३ सय ३३ नगदसहित ताम्र पत्र र इभेन्ट निर्देशक निशुकान्त झालाई विशेष सम्मानद्वारा सम्मान गरिएको थियो । अवार्ड पाएपछि रश्मीले अहिले सम्म यस्तो सम्मान आफूले कहीँ पनि नपाएको बताइन् । साथै आफूले गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएको भन्दै ठूलो सम्मान दिइएकोमा धन्यवाद दिएकी थिइन् । ‘मैले अहिलेसम्म यति ठूलो सम्मान पाएकी थिइन । अवार्डहरु त धेरै पाएँ तर यो विशेष सम्मानले मलाई गीतसंगीतको क्षेत्रमा अझै ठूलो जिम्मेवारी थपिएको बुझेकी छु’, रश्मीले सम्मान पाइसकेपछि हिमालय टाइम्ससँग कुरा गर्दै भनिन् । 

अवार्डमा प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार रंग पत्रकार कुबेर गिरी र लोकसञ्चारकर्मी पुरस्कार चन्द्रमणि गौतमलाई ५ हजार ५ शय ५५ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

समारोहमा वरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, एभरेष्ट कल्चर ग्रुपका अध्यक्ष आसी कोइराला, पत्रकार तथा गीतकार सुमन बैरागी, लोक तथा दोहोरी गीत उपत्यका समन्वय समितिका अध्यक्ष पीएन सापकोटालगायतको उपस्थिति थियो । उक्त अवार्डमा पपुलर, पब्लिक च्वाइस, जुरी, इन्करेजमेन्ट, पब्लिक च्वाइस लगायतका अवार्ड पनि प्रदान गरिएको थियो ।

जुरी अवार्डबाट कृष्ण रेउले, पब्लिक च्वाइस अवार्डबाट मञ्जु गौतम, पपुलर अवार्डबाट दिनेश थापा र इन्करेजमेन्ट अवार्ड लीला गिरीले पाएका थिए । साथै आधुनिकतर्फ नव–गायिकाबाट बुनु उप्रेती, गीतकारबाट डा.कृष्णहरि बराल, संगीतकारबाट  सुरेन्द्र श्रेष्ठ, महिला मोडलबाट जान्वी बोहरा, पुरुष मोडलबाट केकी अधिकारी, भिडियो निर्देशकबाट नवीन गुरुङ, भिडियो सम्पादनबाट दीपक विष्ट, भिडियो छायाँकारबाट अजय रेग्मी, पब्लिक च्वाइसबाट खुस्बु खड्का र एसएमएस भोटिङबाट मञ्जिता केसीले अवार्ड पाएका थिए । साथै लोकदोहोरीतर्फ नव–गायकबाट तिलक परियार, नव–गायिका टिका तारामी मगर, शब्द संकलनबाट शिखर गजरकोटे, लय संकलनबाट उद्धव कार्की, पुरुष मोडलबाट दुर्गेश थापा, महिला मोडलबाट रिना थापा मगर, भिडियो निर्देशकबाट प्रकाश भट्ट, भिडियो सम्पादनबाट प्रविण भट्ट र भिडियो छायांकनबाट दुर्गा पौडेलले अवार्ड पाएका थिए । यस ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ आगामी वर्ष राजधानीमै आयोजना गरिने आयोजक संस्थाक अध्यक्ष किरण अधिकारीले बताए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं