Date:2017/09/26 |Tuesday

‘ए मेरो हजुर २’ को सुखद् व्यापार

Posted on: September 03, 2017 | views: 48 |

काठमाडौं । नायिका झरना थापाले निर्देशनमा डेब्यु गरेको चलचित्र ‘ए मेरो हजुर २’ ले गत शुक्रबारबाट प्रदर्शन भएसँगै सुखद् व्यापार गरेको छ । विशेषतः प्रेमकथा र कमेडीलाई मुख्य केन्द्रविन्दु बनाएर निर्माण गरिएको यो चलचित्र यतिखेर देशका अधिकांश चलचित्र हलमा हाउसफुलका साथ प्रदर्शन भइरहेको छ । साथै चलचित्रको पहिलो दिनको शोबाट ७८ लाख ग्रस कलेक्सन भइसकेको निर्माणपक्षले जानकारी दिएको छ । 

काठमाडौंमा वितरणको जिम्मा लिएका गोविन्द शाहीले प्रदर्शनको दिन उपत्यकाभित्रबाट ‘ए मेरो हजुर २’ ले कुल ४५ लाख ५० हजारको कलेक्सन गरेको जानकारी दिए । यस्तै, मोफसल वितरणको जिम्मा लिएका केदार पराजुलीले उपत्यकाबाहिरबाट चलचित्रले ३३ लाख २१ हजार कलेक्सन गरेको बताए । प्रदर्शनको पहिलो दिन उपत्यकाभित्र र बाहिर गरी चलचित्रले कुल ७८ लाख ८ हजार ७१ रुपैयाँ कलेक्सन गरेको छ । 

गएको शुक्रबार र शनिबार चलचित्रका मुख्य कलाकार नायक सलिनमान बानियाँ, सलोन बस्नेत तथा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसहित निर्देशक झरना थापा राजधानीका केही हलहरूमा पुग्दा दर्शकको चाप निकै देखिन्थ्यो । बडिगार्डसहित हलमा पुगेका नायक नायिकालाई दर्शकले तारिफयोग्य अभिनय भन्दै प्रतिक्रिया दिएका थिए । साथै गएको बिहीबार गरिएको प्रिमियबाट पनि चलचित्रकर्मि तथा पत्रकारहबाट चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्र हेरिसकेका चलचित्रकर्मीले विशेषतः चलचित्रको मेकिङको पाटोलाई मन पराएका थिए । प्रिमियर हेरेपछि निर्देशक झरना थापाले हिमालय टाइम्ससँग कुरा गर्दै प्रिमियरबाट मात्र आफू खुशी नभएको बताएकी थिइन् । ‘म प्रिमियरबाट आएको सकारात्मक प्रतिक्रियाबाट खुशी छैन, प्रिमियमा प्रतिक्रिया दिने त मेरो आफ्नै परिवार, साथीभाइ हुनुहुन्छ । मलाई दर्शकको प्रतिक्रिया आवश्यक छ’, झरनाले प्रिमियरको समयमा भनेकी थिइन् । अहिले झरनाले सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएकी थिइन् । दर्शकले आफ्नो चलचित्रलाई धेरै माया दिएको भन्दै धन्यवाद दिएकी छन् । 

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको हो । चलचित्रलाई सञ्यज लामाले खिचेका हुन् । वसन्त सापकोटाको संगीत रहेको चलचित्रमा वसन्त अधिकारी सहायक निर्देशकको रूपमा रहेका छन् । चलचित्रकी नायिका साम्राज्ञीको चलचित्र ‘ड्रिम्स’ पछिको यो दोस्रो चलचित्र हो भने नायक सलिनमानको यो डेब्यु चलचित्र हो ।

चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवरलगायत कलाकारको अभिनय छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं