Date:2017/11/23 |Thursday

संगीतकर्मी संघद्वारा दुई दर्जन बढी स्रष्टा सम्मान

Posted on: September 04, 2017 | views: 72 |

काठमाडौं । गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरूको संघ ‘राष्ट्रिय संगीतकर्मी संघ’ले दुई दर्जन बढी स्रष्टालाई सम्मान गरेको छ । विगतका वर्षजस्तै शनिबार राजधानीको राष्ट्रिय नाँचघरमा एक कार्यक्रम आयोजना गर्दै ३३ जना कलाकारलाई सम्मान गरिएको हो । साथै कार्यक्रममा दर्जनभन्दा बढी समाजसेवीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री वामदेव गौतमले सम्मानपत्र प्रदान गरेका थिए । साथै कार्यक्रममा बोल्दै गौतमले नेपाली गीतसंगीत पछिल्लो समय राम्रो हुँदै गएको र देशमा मात्र नभएर विदेशमा समेत नेपाली गीतसंगीत फैलिँदै गएको बताएका थिए । साथै उनले कार्यक्रमका संयोजक कलाकार रमेश दुलालको मुखबाट डेढ सय बढी फरक आवाज निकाल्न सक्ने चकित कलालाई सम्मान गरेका थिए । ‘मलाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोलाउनका लागि रमेश जी जानुभएको थियो उहाँको फरक कला देख्न मलाई निकै अचम्म लाग्यो । सुनेको थिएँ प्रत्यक्ष देख्न पाइयो यस्तो अनौठो प्रतिभा भएका कलाकार पनि हाम्रै नेपालमा हुनुहुन्छ धेरै खुसी लाग्यो,’ गौतमले सयभन्दा बढी चराचुरुङ्गी र थुप्रै बाजागाजाका आवाज निकाल्न सक्ने रमेशको कलालाई सम्मान गर्दै भने । त्यस्तै गौतमले नेपालमा विश्वमै कलाकारहरूलाई जहाँ पनि सम्मान गर्ने र नेताहरूलाई जहाँ पनि हेला गर्ने भन्दै नेता हुनु नराम्रो धारणा दिएका थिए । तर सबैको मन एकै नहुने र कतिलाई नेता र नेतृत्व मनपर्ने पनि बताएका थिए । ‘कलाकारहरूलाई पनि नेता मन पर्दो रहेछ त्यसैले त मलाई कार्यक्रमसम्म प्रमुख अतिथिको रूपमा बोलाइदिनुभयो,’ गौतमले भने । आयोजक संस्था ‘राष्ट्रिय संगीतकर्मी संघ’का अध्यक्ष गायक नवराज घोरासैनीले आफ्नो संघले गीतसंगीतको क्षेत्रमा सदैव राम्रो काम गर्दै आएको र विशेषतः नयाँ प्रतिभालाई स्वागत गर्दै गीतसंगीतको क्षेत्रलाई फराकिलो बनाउने उद्देश्य रहेको बताएका थिए । उनले प्रत्येक वर्ष गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका कलाकारहरूलाई सम्मान गर्दै आएको पनि बताएका थिए ।

त्यस्तै कार्यक्रमका संयोजक दुलालले पनि आफ्नो र संघको सम्पूर्ण सदस्यसाथीहरूको प्रयासबाट कार्यक्रम सफल भएको र स्रष्टाहरूलाई सम्मान गर्नपाउँदा खुसी लागेको बताएका थिए । कार्यक्रममा गीतसंगीतक्षेत्रका पुराना तथा नयाँ कलाकारहरूलाई पनि सम्मान गरिएको थियो । 

गायक प्रकाश कटुवाल, रबिन लामिछाने, सागर गुरुङ, अमृत खाती, दीपेन्द्र सिटौला, चन्द्र प्रसाद भट्टराई, सरिता शाही, निरु कार्की, गीता शाही, रूपक थापा, सुमित्रा लामा, प्रेम अर्याल, विशाल रायमाझी, कृष्ण रेउले, एलिना रायमाझी, दीपसागर थापा, सुजन लम्साल, निरु पराजुली, सुमन परियार लगायतका कलाकारलाई सम्मान गरिएको थियो । 

 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं