Date:2017/11/23 |Thursday

मदनकृष्णले ल्याए ‘महको म’

Posted on: September 06, 2017 | views: 59 |

काठमाडौं । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन मंगलबार एक समोरोहबीच होटल याक एन्डमा भयो । पुस्तकको विमोचन हरिवंश आचार्यले गरेका थिए । श्रेष्ठलाई शुभकामना दिँदै आचार्यले भने, ‘धेरै पहिले मैले एउटा सुरिलो रूखको आत्मकथा पढेको थिएँ । त्यो पढेपछि सबै चीजको आत्मकथा हुन्छ भन्ने लाग्न थालेको हो मलाई । मदन दाइको जस्तो ओजपूर्ण जीवनको भएको मानिसको आत्मकथा त नहुने हुनै भएन । म मेरो जीवनदाइको आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा ढुक्क छु ।’

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार रवीन्द्र समीरले, ‘प्रख्यात अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म एउटा शास्त्रीय आत्मकथा हो । आत्मप्रसंशा, आत्मश्लाघाबाट पूर्णतया बचेको यो पुस्तक नेपाली साहित्यको अमूल्य प्राप्ति हो । महको म आत्मकथाको भीडमा एउटा सग्लो, अग्लो र पृथक पहिचान भएको पुस्तक हो ।’

उनले थपे, ‘४ दशकभन्दा लामो समयसम्म हरिवंश आचार्यको भाषामा सियो र धागो भएर मह जोडी बनेका लेखकको यो पुस्तकमा चिना हराएको मान्छेको प्रसंग नदोहोरिनु अर्को विशेषता हो । महको म पढ्दा कहिले एक्लै हाँसो लाग्छ, कहिले गम्भीर बनाउँछ, कहिले घोत्लिन बाध्य गराउँछ, कहिले रुवाउँछ, कहिले लेखकप्रति अगाध श्रद्धा उत्पन्न हुन्छ त कहिले मीठो ईष्र्या लाग्छ । प्रेम, अन्तरजातीय विवाह, यसोदा भाउजुको क्यान्सर सङ्घर्ष, लेखकको पार्किन्सनको कारण “चिप्स र ब्याट्री” ले चलेको जीवन आदि पढ्दा मुटु ढुक्क फुलेर आउँछ ।’

कार्यक्रममा श्रेष्ठले लेखेका गीतहरू उनका छोराछोरी यमन र सराना श्रेष्ठले गाएका थिए । साथै, श्रेष्ठ आफंैले पनि आफ्ना केही गीत गाएका थिए । 

असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संघर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका घटना, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डो¥याउँछ । पुस्तक पढ्दै गर्दा लाग्छ— दुःखका पहाड कति अग्ला, संवेदनाका खाडल कति गहिरा, हैरानीका गुजुल्टा कति जेलिएका र खुसीका रङ कति चहकिला हुन सक्छन् भनेर ।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । पुस्तकको हार्डकभर मूल्य ८ सय ७६ रुपैयाँ र पेपरब्याक मूल्य ५७६ रहेको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं