20th June | 2018 | Wednesday | 11:10:24 AM

रश्मीलाई अवार्ड थाप्न भ्याइनभ्याई

  POSTED ON : Friday, 08 September, 2017 (4:19:29 PM)

रश्मीलाई अवार्ड थाप्न भ्याइनभ्याई

काठमाडौं । लोक तथा दोहोरी क्षेत्रकी चर्चित मोडेल रश्मी तामाङलाई अहिले अवार्ड थाप्न भ्याइनभ्याई हुन थालेको छ । मोडलिङमा लोकप्रियता बढ्दै गएपछि रश्मीले पछिल्लो समय थुप्रै अवार्ड जित्न सफल भएकी छन् । 

नुवाकोटको तत्कालीन सामरी गाविसमा जन्मे हुर्केकी रश्मी काठमाडौंमा पढ्दै गर्दा आफूलाई मोडलिङको क्षेत्रमा होमेकी थिइन् ।

लोक, लोक दोहोरी, तीज तथा लोक पप गीतहरुमा अभिनय गरेकी रश्मी स्टेज कार्यक्रमका लागि मुलुकका सबैजसो क्षेत्रमा पुगेकी छन् । मुलुकभित्र मात्रै नभई करिब १५ वटा देशको भ्रमणसमेत उनले गरिसकेकी छन् ।

करिब ७ वर्षदेखि अभियन क्षेत्रमा निरन्तर काम गरिरहेकी रश्मीले यो अबधिमा ८ सयभन्दा बढी गीतमा अभिनय गरिसकेकी छन् । 

रश्मीले अभियन गरेका ‘सोल्टीले मलाई आँखा मा¥यो नि’, ‘उही खोलीमा पानी’, ‘हङकङको चुरोट, गोरखपुरको सलाई’ जस्ता सयौं गीतहरु हिट छन् । 

दर्शकको माया, सम्मान र आर्थिक सबै कुराबाट सन्तुष्ट हुन सकिने क्षेत्र र सानैदेखिको नृत्यको रुचीले संगीत र नृत्य क्षेत्रमा आफ्नो विशेष सामिप्यता रहेको बताउँछिन् रश्मी ।

त्यसो त पछिल्लो समय लोक तथा दोहोरीसँग सम्बन्धित सबैजसो अवार्डमा रश्मीकै बर्चस्व हुने गरेको छ । अहिलेसम्म थुप्रै अवार्डहरु थापीसकेकी रश्मीले आफूले पाएकामध्ये झट्ट सम्झने अवार्डहरु भने गृह जिल्लाबाटै प्राप्त अवार्डहरु हुन् । 

रश्मीले पहिलो सुन्दरादेवी बागमती लोकदोहोरी अवार्ड २०७२, सुन्दरादेवी सन्देश बागमती म्युजिक अवार्ड २०७३, पाँचौ राष्ट्रिय रापती म्युजिक अवार्ड २०७३, दोस्रो तीज म्युजिक अवार्ड २०७२, पाँचौ म्युजिक अवार्ड २०१६, पाँचौ राष्ट्रिय दोहोरी अवार्ड २०७४, चौथो बायो राष्ट्रिय दोहोरी अवार्ड २०७३, छैटौँ विन्द्यावासीनी म्युजिक अवार्ड २०७३ लगायत थुप्रै अवार्डहरु प्राप्त गरेकी छन् ।

यतिमात्र नभई उनले सुन्दरादेवी राष्ट्रिय म्युजिक अवार्ड २०७४ मा विशेष सम्मानसमेत प्राप्त गरेकी छन् । उनले रु.३३,३३३ नगदसहित सम्मान प्राप्त गरेकी हुन् । विदेशमासमेत थुप्रै सम्मान पाएकी रश्मी भन्छिन्, ‘सम्मान थाप्न जाँदा, जिम्मेवारी झनै बढेको महशुस गर्छु, अवार्डहरुले मलाई गम्भीर बनाउने गर्छन्, खुसी त लाग्छ नै ।’

मोडलिङ क्षेत्र नै आफ्नो लागि उपयुक्त भएको ठान्ने रश्मीको एक मात्र लक्ष्य दर्शकहरुको मन जित्ने गरी अभिनय र नृत्य गर्ने । रश्मीले आफू सकेसम्म दर्शकहरुको अझै मन जित्ने र राम्रो गर्ने प्रयासमा रहेको बताइन् । अवार्ड कार्यक्रमहरुले आफूलाई यो क्षेत्रमा लाग्न अझै प्रेरित गरेको उनको ठम्याई छ ।