Date:2017/09/19 |Tuesday

जापानीज कलाकारको नेपाली फिल्म ‘माई लभ’

Posted on: September 11, 2017 | views: 37 |

काठमाडौं । जापानका कलाकारहरूको बाहुल्यता बढी भएको द्वयभाषीय नेपाली चलचित्र ‘माई लभ–प्रमिस फर काठमाडौं’ आउँदो मंसिरमा नेपालका हलहरूमा प्रदर्शन हुने भएको छ । विशेषतः नेपालमा ०७२ सालमा गएको महाभूकम्पको क्षति र जापानबाट आएको ‘रेस्क्यु’ टिमको सहयोगको कथालाई समेटिएको छ । 

आजभन्दा दशकअघिको चलचित्र ‘शिरिषको फूल’का जापानी निर्देशक डा. तोसिआकी इतोद्वारा निर्देशित चलचित्र ‘माई लभ–प्रमिस फर काठमाडौं’ आगामी मंसिर १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ भने जापानमा भने आउने डिसेम्बरमा प्रदर्शन हुनेछ । 

आइतबार राजधानीमा एक कार्यक्रमबीच चलचित्र टिमले शो जानकारी गराइएको हो । चलचित्रको बारेमा जापानबाट आएका जापानीज कलाकारले पनि आफ्ना भनाइ राखेका थिए । भूकम्पको सेरोफरो र भूकम्पका बेलामा मानिसका देखिएका संवेदना र माया प्रेममा चलचित्र निर्माण भएको बताएका थिए । चलचित्र क्रियशन नेपालको निर्माणमा बनेको ‘माई लभ’मा जापानबाट युइची हायदा, रिवोन मिजुतानी, सुइतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शीतल श्रेष्ठ, चैत्यदेवी ही, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबी लिम्बूलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा गौरीशंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ । भूकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निर्माणमा लाग्ने र आफ्नो नजिकका मानिसभन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मुख्य विषय चलचित्रमा रहेको छ । 

चलचित्र महानगरपालिकासँग सम्बन्धित रहेकाले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमबार विशेष प्रदर्शनी गरिने भएको छ । चलचित्रका निर्देशक डा. तोसिआकी इतोले निर्देशन गरेको चलचित्र शिरिषको फूलले नेपालमा नेशनल अवार्ड जितेको थियो । नेपालमा ‘माई लभ’को सम्पूर्ण व्यवस्थापन गणेश लामाले गरेका हुन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं