Date:2017/09/23 |Saturday

संस्कृति जोगाउन ‘घोडचडी’ नाटक

Posted on: September 12, 2017 | views: 65 | गोपिकृष्ण चापागाईं

काठमाडौं । एक मानिस आँगनीमा जुत्ता सिलाउने काम गरिरहेका छन् । नजिकैको घरको पिँडीमा एक महिला टोलाएर बसेकी छिन् । जुत्ता सिलाएर बसेका ‘बौका’ नाम गरेका ती मानिस टोलाएर बसेकी भाउजु ‘भगेनी’ को अवस्था देखेर दंग पर्छन् । केही बेरमा ती महिलाले ठूलो चिन्ता लिन्छिन् त्यो हो आफ्नो छोरी ‘बुधिनी’ को बिहे ।

त्यो घरमा सबैभन्दा चिन्ताको विषय भनेको बुधिनीको बिहेको हुन्छ । बौका बोल्न सक्दैनन्, त्यति मात्र होइन उनी शारीरिक अपांग पनि छन्, सामान्य मानिसझैं उनी सहजै हिँडडुल गर्न पनि सक्दैनन् । उनी आफैं एक्ला छन् तर उनको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको बुधिनीको बिहे नभएकोमा हो । उनले दाइ भगतराम, भाउजु भगेनी र भतिजो रविलाई बुधिनीको विवाह गरिदिनका लागि ठूलै दबाब दिइरहन्छन् । तर बुधिनीलाई आफ्नो बिहेको विषयमा चिन्ता नै छैन । उनलाई चिन्ता चम्फुली बाजा र घोडचडी नाच लोप हुँदै गएकोमा छ । त्यसैले पनि उनले चम्फुली बाजा र घोडचडी नाँचको प्रचारप्रसारका कालगी गाउँमा एक मेला आयोजना गर्ने तरखरमा हिँडिरहेकी हुन्छिन् । त्यस्तै बुधिनीको बुबा भगतराम र बुधिनीको भाइ रवि पनि बुधिनीको बिहे चाहँदैनन् । रवि भने दिदीसँग काठमाडौंमा आएर पढ्ने ठूलो सपना देखिरहेको हुन्छ, दिदीको विवाह भए काठमाडौंमा दिदीसँग बसेर पढ्न पाइन्न भनेर रविले दिदीको विवाहको कुरै सुन्न चाहँदैन । दिदीले कुनै तरिकाबाट बिहे नगर्ने नाटक गरिरहँदा पनि रवि साँच्चै नै दिदीले बिहे गर्न लागिन् कि भनेर रिसाउँछ ।

प्रस्तुत कथा राजधानीको शिल्पी थिएटरमा चलिरहेको नाटक ‘घोडचडी’ को हो । सुवलमणि सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो नाटक यही भदौ १६ देखि सुरु भएको हो भने नाटक आउँदो असोज २ गतेसम्म चल्नेछ । नाटकमा मुख्यतया चमार समुदायको लोप हुँदै गएको घोडचडी नाँचलाई मुख्य विषय बनाइएको छ । 

गाउँमा धेरै पढेकी भनिएकी २४ वर्षीय बुधिनीले शहरमा बसेर डिग्री पढ्दै गरेकी हुन्छिन् । तर गाउँभरि उनले विवाह नगरेको र एक्ली केटी बाहिर–बाहिर बसेको भन्दै विभिन्न कुरा काटिएको हुन्छ । पँधेरामा कुरौटे एउटी बुहारी ललिताले बुधिनीकी आमा र छिमेकी रामबत्तीसँग विभिन्न कुरा काटेकी हुन्छिन् । 

चमार जातिको घोडा नृत्य, चम्खोलि बाजा र आस्थाको केन्द्र थान (मन्दिर वा मठ) मा गुन्जिने भक्ति संगीत एवं पूजा विधिको परिवेश प्रस्तुत गरिएको छ । तेत्तीसजना कलाकारलाई एउटै मञ्चमा उभ्याउन सफल नाटक ‘घोडचडी’ मा मुख्य कलाकार भगतरामको भूमिकामा लोकमणि सापकोटा र भागिनीको भूमिकामा सरस्वती अधिकारी र बौकाको भूमिकामा विज्ञान गजुरेलको अभिनयले दर्शकलाई अभ भावुक बनाउँछ ।

नाटकमा अन्य कलाकार बुधनारायण–सबिन कट्टेल, रामवती–सुरभी सापकोटा, ज्वाइँरचमरु–मात्रिका घिमिरे, बुधुनी–दिलासा श्रेष्ठ केसी, पत्रकार–सवनम चौधरी, भुटुवा–सुलभ पाण्डे, मानबहादुर सर–रूपेश लामा, जयकिशन–कपाशेली लक्ष्मण, खबरी–इश्टू, रवी–अनिल कुर्मी, सदानन्द–शंकर काफ्ले, बुहारी–नम्रता काफ्ले र चोर–सन्तोष गौतमले आआफ्नो भूमिकालाई न्याय गरेका छन् । एकघण्टा चालीस मिनट लामो नाटक शिल्पी थिएटरमा हप्ताको मंगलबारबाहेक अन्य बार बेलुकी ५ः१५ देखि लागिरहेको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं