Date:2017/11/25 |Saturday

बलिउड कलाकारको साथमा ‘दि कर्मा’ बन्ने

Posted on: September 13, 2017 | views: 60 |

काठमाडौं । बलिउडका दुई कलाकारको साथमा चलचित्र ‘दि कर्मा’ बन्ने भएको छ । बलिउडमा केही चलचित्रमा अभिनय गरिसकेका र थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेका दीपक आनन्द र करणकुमार बर्माले यो चलचित्रमा अभिनय गर्दैछन् । 

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्दैछन् भने चलचित्रमा जयराज राय र नीशा खतिवडा निर्माता हुन् । चलचित्र आउँदो मंसिरबाट फ्लोरमा जाने बताइएको छ । चलचित्र आउँदो नयाँ वर्षमा रिलिज हुनेछ । 

जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रमा अभिनय गर्ने दुई बलिउड कलाकारहरूले नेपाली भाषा नै बोल्नेछन् । उनीहरूलाई पत्रकार सम्मेलनमा नेपाली भाषा बोल्न मात्र होइन बुझ्नसमेत निकै गाह्रो भएको देखिन्थ्यो । यस अर्थमा उनीहरूका लागि नेपाली संवाद चलचित्रमा बोल्न धेरै मेहनत गर्नुपर्ने भने पक्कै छ । निर्माता जयराजका अनुसार बलिउड दुई कलाकारहरूले पनि चलचित्रमा नेपालीमै बोल्नेछन् । ‘उहाँहरूलाई चलचित्रको कथाले नै मागेर अभिनयमा हालेका छौं । उहाँहरूले पनि नेपाली नै बोल्नुहुनेछ’, निर्माता जयराजले भने । निकै कम नेपाली बोल्ने र बुझ्ने दीपक र करण कुमारले आफूले लामो समयसम्म वर्कसपबाट नेपाली भाषा सिकेर चलचित्रका लागि योग्य हुने बताए । बलिउड कलाकार दीपकले नेपाल र नेपाली निकै मन पर्ने पनि बताएका थिए । साथै यो चलचित्र नेपाल र भारतीय दुवै भाषामा निर्माण हुनेछ । निर्माण युनिटले बताएअनुसार भारतका लागि हिन्दी भाषामा र नेपालका लागि नेपाली भाषामा डबिङ भएको हुनेछ ।

चलचित्रमा यी दुई बलिउड कलाकारहरूको साथमा क्षितिजा शाक्य, नसीमा आचार्य, अनुप सक्सेनालगायतका कलाकारको मुख्य भूमिका रहनेछ । नेपाल र भारतका केही स्थानमा चलचित्रको छायांकन हुनेछ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, जयराज रायको कथा, सुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं