22nd July | 2018 | Sunday | 12:29:19 PM

कोरियामा नेपथ्यको भव्य कन्सर्ट

  POSTED ON : Sunday, 08 October, 2017 (5:12:47 PM)

कोरियामा नेपथ्यको भव्य कन्सर्ट

काठमाडौं । लोक–रक ब्यान्ड नेपथ्यले गएको बुधबार दक्षिण कोरियाको सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’को अवसरमा त्यहाँस्थित कास्की परिवारले नेपथ्य कन्सर्टको आयोजना गरेको थियो । चुसोक कृषिमा आधारित परम्परागत पर्व हो । आप्रवासीको निम्ति भने यो पर्व साथीभाइसँग भेटघाट गर्ने र स्वदेशको सम्झना ताजा पार्ने अवसर बन्न पुगेको छ ।

नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङले रोजगारीका लागी देश छाडेर कोरिया पुगेका नेपाली युवालाई परदेशमा काम गर्नुलाई अवसरको रूपमा लिएर सकेसम्म स्वदेशका निम्ति काम लाग्ने सीप विकास गर्न आग्रह गरेका थिए । यो समेत गरेर दक्षिण कोरियाली राजधानी सउलमा नेपथ्यको यो पाँचौं प्रस्तुति थियो ।

‘यो जिन्दगानी’बाट अघि बढेको कन्सर्ट ‘कोसीको पानी’, ‘गाउँ गाउँबाट उठ’ हुँदै नेपथ्यका सुपरहिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’मा प्रवेश गरेको थियो । कन्सर्ट को अन्त्यमा ‘रातो र चन्द्रसूर्य’ गीत प्रस्तुत गरिएको थियो । कन्सर्टमा सँधैझैँ अमृतलाई स्टेजका साथीहरू ध्रुव लामाले ड्रमसेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले बेस गितारमा, निरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा सघाएका थिए ।

कार्यक्रम सफलताका साथ सम्पन्न भएकामा कास्की परिवारका तर्फबाट खोम गुरुङले कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई धन्यवाद व्यक्त गरेका थिए । नेपत्थ्यले कन्सर्ट गरेको उक्त हलमा यसअघि अन्तर्राष्ट्रिय स्तरमै बहुचर्चित सांगीतिक नामहरू ‘डिप पर्पल’, ‘जुडास प्रिस्ट’, ‘मारिया क्यारे’ र ‘एयर सप्लाइ’ले समेत प्रस्तुत गरिसकेका छन् ।