Date:2017/10/17 |Tuesday

‘छक्का पञ्जा २’ को नयाँ रेकर्ड

Posted on: October 09, 2017 | views: 153 |

काठमाडौं । ब्राण्ड भनिसकेको चलचित्र युनिट ‘छक्का पञ्जा’ ले आफ्नो दोस्रो संस्करणबाट पनि नयाँ रेकर्ड बनाएको छ । दशैँको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ पहिलो दिनमै करोड क्लबमा प्रवेश गरेको थियो । साथै यो चलचित्रले ११ दिनभित्र सम्ममा अहिलेसम्मकै नेपाली चलचित्रहरूको रेकर्ड कायम गरेको छ । प्रदर्शनको एक सातामै ७ करोड ग्रस कलेक्सन गरेको थियो भने ११ दिनसम्ममा १० करोड ग्रस कलेक्स गर्न सफल भएको छ । यो नेपाली चलचित्रको व्यापारमा अहिलेसम्मकै सर्वाधिक हो ।

चलचित्रले सफलता पाउनुमा सोलो प्रदर्शन र लगातार लामो बिदालाई लिन सकिन्छ । यसले गर्दा पनि चलचित्र हेर्न चाहाने दर्शकहरू हलसम्म पुगेका छन् । एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार ‘छक्का पञ्जा २’ ले प्रदर्शनको ११ दिनमा देशभरबाट कुल १० करोड कलेक्सन गरेको छ । चलचित्रले राजधानी बाहिरबाट ११ दिनमा ५ करोड ५० लाखको ब्यापार गरेको छ । यस्तै राजधानीबाट प्रदर्शनको ११ दिनमा ४ करोड ५० लाख कलेक्सन गरेको छ ।’ यसको पहिलो भागले सय दिन मनाउँदै गर्दा १६ करोड कलेक्सन गरेको थियो । 

चलचित्रको प्रदर्शनसँगे चलचित्रको बारेमा दर्शक तथा समीक्षकले गरेको समीक्षामा चलचित्र युनिटले आक्रोश पनि पोखेको देखिन्छ । राम्रो प्रतिक्रियालाई सहजै स्वीकार्ने र आलोचनामाथि आक्रोश पोख्ने नेपाली चलचित्र निर्माताहरूको बानी यस चलचित्रका निर्मातामा पनि परेको देखिन्छ । केही दिनअघिदेखि चलचित्रका निर्माता दीपकराज गिरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको समीक्षाको आलोचना गरेका छन् । 

दीपकले विभिन्न भिडियाहरूमा छापिएका समीक्षालाई पनि फेसबुकमार्फत आचोलनासहितका तर्क दिएका छन् । ‘छक्का पञ्जा २’ को तारिफ र सकारात्मक समाचारका प्राय पोस्टमा धन्यवाद लेख्दै प्रतिक्रिया दिइरहेका उनले नकारात्मक टिप्पणी र आलोचनालाई सहज रूपमा लिन सकेका भने छैनन् । बाहिर ‘नकारात्मक कुराहरूमा मलाई चासो छैन’ भनेको पटकपटक सुनिन्छ तर, सामाजिक सञ्जालमा त्यस्तो देखिँदैन ।

दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, वर्षा राउत, निश्चल बस्नेत, आयुष्मान देशराज श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ । चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीले लेखेका हुन् । दीपक—दीपाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जितु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाईं, सुमन गिरीको लगानी रहेको छ । चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं