Date:2017/12/17 |Sunday

किन रेखाको फोन काटे आर्यनले ?

Posted on: October 10, 2017 | views: 141 |

गोपिकृष्ण चापागाईं ।

काठमाडौं । नायक आर्यन सिग्देल र नायिका रेखा थापालाई एउटै चलचित्रमा काम गराउनु सानो कुरा थिएन । ८ वर्षअघि एकजना पूर्व र अर्को पश्चिम भएका यी दुईले अहिले एउटै चलचित्रमा काम गरेका छन्भन्दा धेरै दर्शकलाई अचम्म लागेको पनि छ । मनमुटावपछि रेखाले न त आर्यनको कुरा सुन्न चाहन्थिन न त आर्यनले रेखाको, यी दुवैजना एकअर्कामा निकै रिसिएका थिए । 

सोमबार चलचित्र ‘रुद्रप्रिया’ को पत्रकार भेटघाट कार्यक्रममा आखिर ८ वर्ष अगाडि रेखा र आर्यनको के कारणले मनमुटाव भएको थियो भन्नेबारे पत्रकारहरूले उत्तर चाहे तर रेखा र आर्यनले भने यो पश्नको सहजै उत्तर दिएनन् । हामीबीच त्यस्तो ठूलो मनमुटाव नै थिएन भन्ने चित्त नबुझ्दो उत्तर आएपछि एकपछि अर्को प्रश्न तेर्सियो । उक्त प्रश्नको ठोस उत्तर पाउन नसके पनि आखिर पूर्वपश्चिम भएको यो जोडीको कसरी मिलन भयो त भन्ने प्रश्नको उत्तर भने चित्त बुझ्दो मिल्यो । चलचित्र ‘रुद्रप्रिया’का निर्देशक सुदिप भूपाल सिंहले रेखा फिल्मस्मा आर्यनलाई भिœयाउन अर्थात यो जोडीको मनमुटाव हटाउन ठूलो भूमिका खेलेका छन् ।

निर्देशक सुदिपले रुद्रप्रियामा रेखालाई तपाईसँग आर्यनलाई खेलाउन चाहन्छुभन्दा रेखाले आर्यनसँग आफ्नो कुनै पनि गुनासो नभएको बताएपछि उनले आर्यनलाई चलचित्रमा ल्याउन कुरा अगाडि बढाए । चलचित्रमा आर्यन लिने कुरा भइरहँदा आर्यन भने एक कार्यक्रमको सिलसिलामा कतारमा थिए । चलचित्रका एक सदस्यले आर्यनलाई फोन लगाए र भने, ‘तपाईसँग रेखा थापा बोल्न चाहनुहुन्छ ।’ आर्यनले रेखाको नाम सुन्ने बित्तिकै फोन काटे । रेखालाई नमिठो लाग्यो । आर्यनले बेवास्ता गरेपछि निर्माण पक्षले चलचित्रमा सुदर्शन थापा र अर्पण थापालाई साइन गरायो । यस्तैमा आर्यन नेपाल आए । आर्यन नेपाल आएपछि चलचित्रका निर्माता पौडेलले रेखासँग भेट्न मिल्ने वातावरण तयार पारे र बल्ल–बल्ल उनी रेखासँग भेट्न तयार भए ।


८ वर्षसम्म भेट  नभएको रेखा र आर्यनको भेट रमेश एमके पौडेलको अफिसमा भएको थियो । पहिलो भेटमा उनीहरूको पहिलो बोली भनेको आर्यनले रेखालाई ‘तिमी त धेरै मोटी भइछौ नि’ भनेका थिए भने लगत्तै रेखाले पनि आर्यनलाई ‘तिमी पनि त मोटे भएछौं नि’ भनेसँगै उनीहरूको बोली फुरेको थियो । निर्देशक सुदिपले बताएअनुसार जोडीलाई ‘रुद्रप्रिया’मा कलात्मक तरिकाले प्रस्तुत गरेका छन् ।  

चलचित्रमा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । चलचित्रमा रेखा र आर्यनसँगै राजन इशान, टीका पहारी लगायतका कलाकारको पनि अभिनय छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं