Date:2017/12/17 |Sunday

काजलको सम्झनामा रक्तदान

Posted on: October 11, 2017 | views: 47 |

काठमाडौं । बाल कलाकार काजल नेपालीको सम्झनामा खुला रक्तदान गरिएको छ । गत बिहीबार अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा फ्यान्कोनी एनिमिया रोगका कारण मृत्यु भएको उनको सम्झनामा रामजी नेपाली फाउन्डेशनले राजधानीको भृकुटी मण्डपमा बृहत् रक्तदान कार्यक्रम गरेको हो । 

फाउन्डेशनका अध्यक्ष रामजी नेपालीका अनुसार बाल कलाकार काजल नेपालीको आत्माले शान्ति पाओस्, भन्दै तमाम अस्पतालमा रगत नपाएर छट्पटाइरहेका बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यका साथ शोकलाई शक्तिमा बदल्ने कोसिस स्वरूप यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले छोरी गुमाउनुको पीडासँगै सामाजिक कार्यमा सक्रिय रामजी नेपाली फाउन्डेशनका कार्यको सहराना गरेका थिए । 

घरमा परेको ठूलो पीडामा पनि अन्यलाई प्रेरणा मिलोस् भन्दै यस्तो राम्रो काम गरेको सायदै पहिलो भएको नेपाल रेडक्रस सोसाइटीका तर्फबाट गमला क्षेत्रीले बताए । उक्त कार्यक्रममा उज्ज्वल नक्षत्र समाजका कोषाध्यक्ष दृष्टिविहीन सुशील अधिकारी, चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी, नायिका सारिका घिमिरे, काजलकी माता तथा वरिष्ठ लोक गायिका कृष्णा परियार, साहित्यकार महेश प्रसाईं, मिलापका कृष्ण भुसाल, सानुकाजी श्रेष्ठ, निर्देशक देव नेपाल, वरिष्ठ नृत्य निर्देशक याम गुरुङ, सह निर्देशक किशोर खतिवडा, गीतकार कृष्णराज पाण्डेय, समाजसेवी संजय श्रेष्ठ, लेखक दीपक शर्मा, कलाकार होमलाल पुन, किरण थापा, विमल बर्देवालगायतले आ–आफ्ना भनाइ राखेका थिए । रेडक्रसका धना भण्डारी, राधिका कुँवर र रचना पौडेलले सहजीकरण गरेको कार्यक्रममा एक दर्जनले रक्तदान गरेका थिए । 

२०६८ सालदेखि म्युजिक भिडियोहरूमा अभिनय यात्रा सुरु गरेकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’ मा अभिनय गरेकी थिइन । ‘आउन पाइन घर यो दशैंमा’, ‘खोला जस्तै हो रे चोला नि’, ‘धिङ्का ताका धिन’, ‘बैश गयो हाँसेर’ लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केही वर्षदेखि फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन् ।

विजया दशमीको दिन कान्ती बाल अस्पताल भर्ना गरी उपचार गर्दै गरेकोमा अचानक बेहोस भएपछि त्यहाँ आई. सि.यु. बेड खाली नभएपछि अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा लगी भेन्टिलेटरमा राखी उपचार गरिएको थियो जहाँ उनको बिहीबार राति मृत्यु भएको थियो । काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली एवं लोकप्रिय लोक गायिका कृष्णा परियारको जेठी छोरी हुन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं