Date:2017/12/14 |Thursday

‘कुकुकु’मा कम्मर मर्काउँदै निखिल

Posted on: October 13, 2017 | views: 56 |

काठमाडौं । आउँदो माघ ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पिंजडा ब्याक अगेन’ को ‘कुकुकु’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा चलचित्रमा मुख्य नायक निखिल उप्रेती र नायिका सारा सिर्पालीले कम्मर मर्काएका छन् । गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ भने राजनराजलाई अन्जु पन्तले स्वरमा साथ दिएकी छिन् । यस्तै भिडियोलाई रामजी लामिछानेले कारियोग्राफी गरेका हुन् । 

करिब १८ वर्षअघि प्रदर्शनमा आएको नायक निखिलको डेब्यु चलचित्र ‘पिंजडा’ को नामलाई सापटी लिएर ‘पिंजडा ब्याक अगेन’ निर्माण गरिएको छ । नाम दोहोरिए पनि चलचित्र भने ‘पिंजडा’ को सिक्वेल नभएको निर्माण युनिटले जनाएको छ । 

लोक शैलीलाई चलचित्रको गीतमा ल्याएर एकपछि अर्को गर्दै चर्चामा आएका गायक तथा संगीतकार राजनराज सिवाकोटीले मौलिक शब्द प्रयोग गरेर बनाएको कुनै पनि गीत अहिलेका नयाँपुस्ताका लागि पुस्तकको काम गर्ने बताए । ‘मैले जति पनि गीत बनाएको छु मौलिकता झल्किने गीत छन् । विशेषतः गीतमा समावेश शब्दहरू अहिलेका युवाहरू जसलाई पहिलाका शब्दहरू नौलो लाग्छ उनीहरूलाई पुस्तकको काम गरोस् भन्ने चाहना हो’, राजनराजले भने । साथै कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले यसभन्दा अघिका चलचित्र यस्तै यसमा पनि मेहनत गरेको र सार्वजनिक गरेको गीतमा निकै मुस्किलले कम्मर मर्काएको अनुभव पनि सुनाए । नायिका साराले चलचित्रमा आफ्नो भूमिका निभाउन निकै गाह्रो भएको अनुभव पनि सुनाएकी थिइन् । साथै उनले वास्तविक जीवनमा साधारण र सरल आफ्नो स्वभावभन्दा चलचित्रको भूमिका धेरै फरक भएको बताएकी थिइन् । 

हिमाल केसी निर्देशित ‘पिंजडा ब्याक अगेन’मा निखिल र साराको साथमा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोला सापकोटा, कुसाग्र भट्टराई, विना थापाको अभिनय रहेको छ । चलचित्रका रोहित पुरी, चन्द्रबहादुर क्षेत्री र गोविन्द गैरे निर्माता हुन् । चलचित्रलाई बिके फिल्मस् र एफडी कम्पनीले वितरण गर्दैछ 

Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं