Date:2017/10/17 |Tuesday

‘लाटीको छोरो’ पूर्वमा

Posted on: October 13, 2017 | views: 38 |

काठमाडौं । यही आउँदो कात्तिक २५ गतेबाट १० दिनसम्म नाटक ‘लाटीको छोरो’ पूर्वमा पनि देखाइने भएको छ । काठमाडौंको मण्डला नाटक घरमा सफलतापूूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ १० दिनसम्म पूर्वका विभिन्न स्थानमा मञ्चन हुने भएको हो । 

सुलक्षण भारतीले निर्देशन गरेको यो नाटकमा श्याम शाहको कथा छ । सुलक्षणले यसअघि ‘बोक्सीको घर’ र ‘बिलगेट्स पण्डित’ नाटक निर्देशन गरिसकेका छन् । त्यस्तै नाटक ‘लाटीको छोरो’ बाट ४२ वर्षपछि अभिनेता टीका पहारी नेपाली रंगमञ्चमा फर्किएका हुन् । लामो समयपछि नाटकमा फर्किएर नयाँ पुुस्तासँग काम गर्न पाउँदा आफूलाई तन्नेरी महसुस भएको उनले बताउँदै आइरहेका छन् । 

यस नाटकलाई पूर्वको विर्तामोडमा कात्तिक २५ गतेदेखि २९ गतेसम्म मञ्चन गर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए । त्यसपछि मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधेमा मञ्चन गर्ने तयारी छ । शिवसताक्षीपछि दमकतिर लाग्ने नाटक युनिटको योजना छ । अन्य स्थानका लागि पनि कुराकानी भइरहेको तर पक्का भइ नसकेको बताइएको छ ।

आर्ट स्टुुडियोको प्रस्तुतिमा तयार भएको यस नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भूमिका निर्वाह गरेकी छिन् । नाटकमा टीका पहारीले गाउँका नेता विषनाथको भुमिका निभाएका छन् । नाटकमा प्रकाश दाहाल, सन्देश लामिछाने, कुन्दन थारू, रियर राई, पशुुपति राई, राजन काफ्ले, सुदीप खतिवडा, रोसन सुवेदी, आर्यन खड्का, मिलन कार्की र मेलिन पराजुलीले अभिनय गरेका छन् । 

यो नाटक काठमाडौंमा भदौ २० गतेदेखि असोज ८ गतेसम्म मञ्चन भएको थियो । नाटकले त्यहाँ सर्वत्र प्रशंसा बटुलेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकारहरू विल्सनविक्रम राई, गौरव पहारी, एड्रिन प्रधानलगायतले नाटक हेरिसकेपछि खुलेर प्रशंसा गरेका थिए । नाटकलाई सफर पोखरेल, जिया लामा र अनिष न्यौपानेले निर्माण गरेका हुन् । 


 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं