Date:2017/11/25 |Saturday

निर्वाचन शिक्षाका लागि देशव्यापी सडक नाटक

Posted on: November 10, 2017 | views: 33 |

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा शिक्षाका लागि देशव्यापी सडक नाटक हुने भएको छ । आगामी निर्वाचनको तिथि गणना सुरु भइसकेको बेला मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सडक नाटक सञ्चालन गर्न लागिएको हो । सो सडक नाटकको काठमाडौंमा दुईदिने कार्यशाला बिहीबार सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयोजकत्वमा २२ र २३ कात्तिकमा निर्वाचन शिक्षासम्बन्धी सडक नाटक ‘महादान’ को कार्यशाला नाचघरमै आयोजना गरिएको हो । कार्यशालामा सहभागी मुलुकका विभिन्न ३८ नाटक टोलीका निर्देेशकलाई गुरुकुल थिएटरका निर्देशक सुनिल पोखरेल र सांस्कृतिक संस्थानका नाटक प्रशिक्षक वीरेन्द्र हमालले संयुक्त रूपमा नाट्य प्रशिक्षण दिए । 

निर्वाचन आयोग, मतदाता शिक्षा सूचना तथा तालिम शाखाका मुख्य प्रशिक्षक हेमराज अर्याल र ममता श्रेष्ठले बिहीबार नाट्यकर्मीलाई संयुक्त प्रशिक्षण दिए । यी दुई मुख्य प्रशिक्षकद्वयले महादान नाटकको विषयवस्तु र प्रस्तुतिसँगै मतदाता शिक्षाको जानकारी गराएका थिए । मुख्य प्रशिक्षक अर्यालकै सल्लाहमा नाटक महादान तयार गरिएको हो ।

मुलुकका ७७ जिल्लामै स्थानीय ३५ र सांस्कृतिक संस्थानको ३ गरी ३८ नाट्य टोलीलाई परिचालन गरिएको छ । ती ३५ वटै नाट्य समूहका निर्देशक तथा मुख्य कलाकारले काठमाडौंमा आएर नाटक महादान मञ्चनबारे दुईदिने प्रशिक्षण पनि लिएका थिए । मुगुलगायत विभिन्न दुर्गम क्षेत्रबाट समेत नाट्य टोली प्रशिक्षणमा सहभागी भएकाले यी दुर्गम जिल्लाका स्थानीय तहमा पनि नाटक महादान मञ्चन हुने पनि बताइएको छ । 

आगामी १० मंसिरमा हुने पहिलो चरणको निर्वाचन क्षेत्रअन्तर्गत ३२ जिल्लामा २८ कात्तिकबाट ७ मंसिरसम्म सडक नाटक मञ्चन गरिनेछ । ७ देखि १० जना कलाकार सम्मिलित एउटा टोलीले हिमाली तथा पहाडी जिल्लामा दैनिक तीन स्थान र तराईका जिल्लामा दैनिक पाँच स्थानमा नाटक मञ्चन गर्नेछन् । २८ कात्तिकबाट १८ मंसिरसम्म मुलुकका ७ सय ५३ ओटै स्थानीय तहमा निर्वाचन शिक्षासम्बन्धी सडक नाटक गरिनेछ । जसअन्तर्गत दोस्रो चरणको निर्वाचन हुने बाँकी ४५ जिल्लामा ५ मंसिरबाट १८ मंसिरसम्म नाटक महादान मञ्चन गरिनेछ । 

यो नाटक पहाडी तथा हिमाली जिल्लामा नेपालीसहित राई, तामाङ, गुरुङ भाषामा, सुदूर पश्चिममा स्थानीय भाषामा र तराईमा मैथली, भोजपुरी, अवधि र थारू भाषामा मञ्चन गरिनेछ । सडक नाटक अभियान संयोजन संस्था गुरुकुलका नाटक निर्देशक एवं सडक नाटक महादानका प्रशिक्षक सुनिल पोखरेलका अनुसार मुलुकका ३८ ओटै टोलीले प्रशिक्षण लिएर कार्यशालामा आआफ्नो शैलीमा नाटक मञ्चनसमेत गरेका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं