22nd July | 2018 | Sunday | 12:45:43 PM

‘आलाप–३’ सार्वजनिक

  POSTED ON : Friday, 10 November, 2017 (5:26:21 PM)

‘आलाप–३’ सार्वजनिक

काठमाडौं । गायक कन्हैया सिंहले आफ्नो सातौं कृतिको रूपमा आधुनिक गीतिसंग्रह ‘आलाप–३’ सार्वजनिक गरेका छन् । एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त कृति कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटा, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विक, चलचित्र पत्रकार एवं साहित्यकार शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठ, गीतकार डीआर, गायक कन्हैया सिंह एवं टीकागोपाल डिजिटल एम क्रिएसनकी व्यवस्थापक गीता सिंहले सामूहिकरूपमा सार्वजनिक गरेका हुन् । 

कार्यक्रमलाई स्वागत गर्दै गायक कन्हैया सिंहले अरूले घरको तला थपे होलान् तर मैले संगीतको तला थपिरहेको छु भन्दै आगामी दिन पनि नेपाली गीतसंगीतभन्दा पर नरहने बताए । प्रमुख अतिथि बास्कोटाले विदेशमा बसेर पनि नेपाली गीतसंगीतकै लागि लगानी गरिरहनु, कलाकारकै हकहितका लागि लागिरहेको देख्दा खुसी लागेको बताए । ‘संगीत क्षेत्रमा लगानी गर्नु जोखिम मोल्नुजस्तो भइरहँदा पनि उहाँको सक्रियता पक्कै संगीत उद्योगले सम्झन लायक भएको छ’, बास्कोटाले भने । कार्यक्रम गीतकार एवं पत्रकार सुमन बैरागीले सञ्चालन गरेका थिए । 

एल्बमभित्र ‘बारे वा, मरि लानू, धेरै माया, भन्दै होलान् र मुटुमा पीडा’ गरी ५ गीत समावेश छन् । जसमा डीआर, सुमन बैरागी र विनोद रोकाको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ । मरि लानू बोलको गीतमा भने गायक कन्हैया सिंहको शब्द र संगीत रहेको छ । कार्यक्रममा वारे वा र मरि लानू बोलको गीतको म्यूजिक भिडियोसमेत देखाइएको थियो । भिडियोलाई विकास घले गुरुङले निर्देशन गरेका छन् ।