Date:2017/11/25 |Saturday

डिजिटल कलामा तिब्बती सम्पदा

Posted on: November 11, 2017 | views: 41 |

हिमालय टाइम्स

काठमाडौं । तिब्बती सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय डिजिटल कला प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । चिनियाँ सरकारी समाचार संस्था (सिन्हृवा) को काठमाडौं ब्यूरो र चाइना मोबाइल तिब्बत कम्पनीको संयुक्त आयोजनामा शुक्रबार सुरु भएको प्रदर्शनीको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे । 

उक्त अवसरमा शाक्यले यस्ता प्रदर्शनीबाट दुवै देशका कलाकारबीचको सम्पर्क र सहकार्य बढ्ने नेपाल र चीनबीच जनस्तरमा सम्बन्ध विस्तार हुने बताए । उनले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुत बनाउन यस्ता प्रदर्शनी महत्वपूर्ण हुने बताए । 

कार्यक्रममा चिनियाँ दूतावासका सांस्कृतिक सहचारी चाङ्बिङ्ले नेपाल र चीनबीचको सम्बन्ध गहिरिँंदै गएको बताए । उनले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि यस्ता प्रदर्शनी उपयोगी हुने बताए । 

सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाले भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदालाई ‘भर्चुअल रियालिटी प्रविधि’ का माध्यमबाट विश्वभर प्रचारप्रसार गरी प्रवद्र्धन गर्न सकिने बताइन् । 

नेपाल ललितकला प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले डिजिटल प्रविधिका माध्यमबाट विश्वको कुनै पनि स्थानको संस्कृति अर्को स्थानमा सहजै प्रचार गर्न सम्भव भएको बताइन् । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक सुनिल शर्माले भर्चुअल रियालिटी प्रविधिका माध्यमबाट सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण काम गर्न सकिने भन्दै प्रदर्शनीको सफलताको कामना गरे । चार दिनसम्म चल्ने प्रदर्शनीमा डिजिटल प्रविधिमा आधारित ‘भर्चुअल रियालिटी’ का माध्यमबाट चीनको स्वशासित क्षेत्र तिब्बतका संस्कृति, कला र चित्रकला अवलोकन गर्न सकिनेछ । 

प्रदर्शनीमा तिब्बतका मनोरम पर्यटकीय तथा सांस्कृतिक सम्पदा, पहिरन, परम्परा, हिमाल, पहाडलगायतको प्रतिबिम्ब देख्न सकिन्छ । प्रदर्शनीमा सहभागी हुन चीनबाट १० जना डिजिटल प्रविधिका विज्ञको टोली आएको छ । ‘प्रदर्शनीमा तिब्बतका पर्यटकीय स्थलहरु न्याङ्ची, नाग्री, मानसरोवरका मनोरम दृश्य भर्चुअल रियालिटी प्रविधिका माध्यमबाट तिब्बत नै पुगेर हेरेको झैं अनुभव गर्न सकिन्छ,’ सिन्हृवाका काठमाडांै प्रमुख चाओ सेङपिङले भने । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं