Date:2017/11/23 |Thursday

एकअर्कामा अधुरा निखिल–सारा

Posted on: November 13, 2017 | views: 31 |

काठमाडौं । एक्सन स्टार निखिल उप्रेती अभिनित चलचित्र ‘पिँजडा व्याक अगेन’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक रोमान्टिक ‘तिमी नि आधा, म पनि आधा’ बोलको गीतमा अभिनेता निखिल र अभिनेत्री सारा सिर्पालीको नृत्य देख्न सकिन्छ । 

आईतबार राजधानीको एक चलचित्र हलमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको उक्त गीतमा मुक्त उदासको शब्द र संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने गीतलाई संगीतकार अर्जुन र अन्जु पन्तले गाएका छन् । भिडियोमा निखिल र साराले आफूहरू एकअर्का विना अधुरो हुने भन्दै छमछमी नाँचेका छन् । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रमा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठलगायतका कलाकारको अभिनय छ । चलचित्रलाई ओम शाही भक्त मुभिज र ओम साई मौलाकालीका पिक्चर्सले संयुक्त रूपमा निर्माण गरेको हो । सुशान्त श्रेष्ठ र वसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्रबहादुर क्षेत्रीको लगानी छ । चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका हुन् ।

अभिनेता निखिलले आजभन्दा झण्डै १८ वर्षअघि चलचित्रमा डेब्यु गरेको नाम हो ‘पिँजडा’ । यहि चलचित्रबाट यात्रा सुरु भएसँगै उनी चलचित्रक्षेत्रमा एक्सन नायकका रूपमा चिनिँदै आएका छन् । अहिले त्यही चलचित्रको नामलाई सापटी लिएर चलचित्र ‘पिँजडा ब्याक अगेन’ राखिएको हो । 

कार्यक्रममा बोल्दै अभिनेता निखिलले यो भन्दा पहिला जसरी दर्शकबाट माया पाएका थिए त्यसरी नै दर्शकले माया गर्ने अपेक्षा राखे । ‘मलाई आजको दिनसम्म जरी दर्शकको माया गरिदिनुभएको छ । मेरो काम मन पराइदिनुभएको छ त्यसरी नै यो चलचित्रलाई पनि माया गरिदिनुहुनेछ अपेक्षा गरेको छु’, निखिलले भने ।

साथै चलचित्रकी नायिका साराले पनि निखिलसँगको दोस्रो चलचित्रको रूपमा ‘पिँजडा ब्याक अगेन’ मा काम गर्न पाउँदा निकै खुशी लागेको र धेरै कुरा सिक्ने मौका पाएको पनि बताइन् । ‘मैले म भन्दा धेरै अग्रज कलाकारसँग काम गर्न पाएँ त्यो नै मेरो लागि ठूलो कुरा हो’, साराले भनिन् । चलचित्र आउँदो माघ ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं