Date:2017/11/23 |Thursday

सधैं दुःख पाउन चाहन्छु

Posted on: November 14, 2017 | views: 32 | गोपिकृष्ण चापागाईं ।

काठमाडौं । सोमबार वरिष्ट हास्य कलाकार हरिवंश आचार्यले आफ्नो ६० औं जन्मदिन मनाए । नेपाली हास्य क्षेत्रका गुरु मानिने आचार्यबाटै प्रेरित भएर नेपालमा थुप्रै हास्य कलाकार जन्मिएका छन् । उनकै बाटो हुँदै आज सयौं हास्य कलाकारहरू देश तथा विदेशसम्म दर्शक हँसाउनकै लागि पुगेको पाउँछौं । यसैबीच सोमबार उनको जन्मदिनमा पुगेका हास्यकलाकारहरूले उनलाई जन्मदिनको शुभकामना दिँदै उनीबाटै हास्यव्यंग्य सिक्दै अगाडि बढेको बताएका छन् । जन्मदिन सेलिब्रेशन कार्यक्रम भक्तपुरको बाल्कोटमा चलचित्र ‘शत्रु गते’ को सुटिङ सेटमै गरिएको थियो ।

महजोडीका हरिवंशको जन्मदिनमा ‘ह’ अर्थात हरिवंशले सधैं खुसी र सुखी रहनु भन्दै शुभकामना दिएका थिए । कलाकारिताको यति लामो यात्रामा सधैं हँसिलो र मेहनती भएर अगाडि बढेको र अबका दिनमा पनि यस्तै देख्न पाऊँ भन्दै उनले शुभकामनाका शब्द दिएका थिए । त्यस्तै हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले पनि आफू महजोडीकै कारण आज कलाकारिता क्षेत्रमा रहेको बताए । टेलिशृंखला ‘कान्तिपुर’ बाट हरिवंशको अभिनयबाट प्रेरित भएको धुर्मुसले बताएका थिए । साथै उनले हरिवंशले गरेको ‘क्यारेक्टर’ हरिवंशसँगकै परामर्शमा टेलिशृंखला ‘मेरिबास्सै’मा अभिनय गर्ने जमर्को गरेको पनि बताए । साथै कार्यक्रममा शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेललगायतका हास्य कलाकारहरूको उपस्थिति थियो । चलचित्र ‘शत्रु गते’ को तर्फबाट निर्देशक प्रदीप भट्टराईले पनि हरिवंशलाई जन्मदिनको अवसरमा सधैं स्वस्थ र खुसी रहन आग्रह गरेका थिए । जन्मदिनमा रेडियो अडियो टिमको तर्फबाट केक काटिएको थियो ।

हरिवंशले जन्मदिन सेलिब्रेशन गरेपश्चात हिमालय टाइम्ससँग कुरा गर्दै आफुले सधैं दुःख पाउन चाहेको बताए । दुःख गरेकै कारण आज यो स्थानमा आएको र सबैको माया पाएकोले पनि उनले सुख नखोजेको बताए । ‘मैले कलाकारिताका लागि धेरै दुःख गरेँ त्यसैले त आज दर्शकले धेरै मन पराइदिनुभएको छ । यदि सुख खोज्दै गएको भए कहाँ यो स्थान पाउन सक्थेँ र’, उनले भने । साथै उनले ६० औं जन्मदिन बाट अघिका दिनहरूमा पनि सधैं कलाकारितामै रमाइरहने बताए । 

हरिवंशले विगतका दिनहरूमा ‘लालपूर्जा’, ‘१५ गते’, ‘दशैं’, ‘हरिबहादुर मदनबहादुर’ जस्ता दर्जनांै सम्झनलायक हास्य शृंखला तथा टेलिफिल्ममा काम गरेका छन् । साथै पछिल्लो समय हरिवंशले अभिनयसँगै पुस्तक लेखनलाई पनि विशेष प्राथमिकता दिएका छन् । उनले पुस्तक ‘चिना हराएको मान्छे’ मार्फत आफ्नो जीवनलाई पछाडि फर्केर हेरेका छन् भने त्यसपश्चात ‘हरि बहादुर’ नामक पुस्तक केही समय अघि मात्रै सार्वजनिक गरेका थिए । 

हरिवंशको सानो छँदाको कुरा सम्झिनु पर्दा उनले बाल्यकालमा संस्कृत विषय पढेका थिए । आफ्नो बुवाकै इच्छा अनुसार उनले संस्कृत पढेका थिए । तर, उनले संस्कृत घोकिरहँदा उनका पिताको निधन भयो जुन बेला उनी जम्मा ६ वर्षको थिए । त्यसपछि उनलाई आमाले ठमेलको वेद वेदाङ्ग विद्यालयमा भर्ना गराइदिइन् । हरिवंशलाई ११ वर्षको उमेरमा पुनः अर्को बज्रपात पर्न पुग्यो । उनले आमा पनि गुमाउनु प¥यो । उनले २०५३ सालमा थर्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरेका हुन् ।

हरिवंशले आफ्नै कमाइ हुन थालेपछि हरिवंश भैरव नृत्य दलमा नाच्न सिक्न जान्थे । जितेन्द्र महत ‘अभिलाषी’कहाँ नाटक खेलाइदिनका लागि धाउँथे । नाटक खेल्ने क्रममा उनले आफूलाई निखार्दै गए । त्यसबेला राजपरिवारका सदस्य नाटक हेर्न आउँथे । हरिवंशको अभिनयले उनीहरूको मन जितेको थियो । त्यही कारण हरिवंशले नाटकबाट पारिश्रमिक पनि पाउन थालेका थिए । उनले मीरा आचार्यसँग विवाह गरे उनको कोखबाट २ सन्तान त्रिलोक र मोहित जन्मिए । पछि हृदय रोगको कारण मीराको मृत्यु भएपछि हरिवंश निकै विचलित बनेका थिए । साथै हरिवंशले पारिवारिक र शुभेच्छुकको सुझावमा रमिला पाठकसँग विसं २०६९ सालमा दोस्रो विवाह गरे रमिला एकल महिला थिइन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं