Date:2017/11/23 |Thursday

बालबालिकासामु रकब्याण्ड

Posted on: November 14, 2017 | views: 27 |

काठमाडौं । राजधानीको बबरमहलमा रहेको ओलम्पिया वल्र्ड स्कुलमा नेपालको चर्चित रकपप ब्याण्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’ ले आफ्नो प्रस्तुति दिएको छ । शनिबार भएको ‘ओलम्पिया फेट (मेला)’ मा आफ्नो सांगीतिक प्रस्तुति दिएको यस ब्याण्डले योभन्दा अघि अमेरिकाको सात शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिएर फर्किएको थियो । अभयका अनुसार ब्याण्डले अमेरिकाका सिनसिनती, सेन्ट लोस, एटलान्टा, बोस्टन, न्यूर्योक, वासिंटन डिसी र बाल्टिमोरमा आफ्नो कन्सर्ट गरेको थियो । स्कुलको सातौं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा ब्याण्डले आफ्नो गीतमार्फत बालबालिका, शिक्षकशिक्षिका तथा अभिभावकलाई सांगीतिक माहोलमा झुमायो । 

‘नारीको सम्मान’ नारा दिइएर गरिएको कार्यक्रममा अभयाले ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘लुकिङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रा लागि’, यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरेकी थिइन् । 

अभयाले नारीप्रति समर्पण गर्दै मेला आयोजना गरेकोमा खुसी व्यक्त गरिन् । ‘अहिलेको प्रविधिको युगमा पनि महिलाप्रति हेर्ने दृष्टिकोण पुरानै छ । यस्तो बेलामा एउटा विद्यालयले नारीको सम्मानका लागि कार्यक्रम गर्नु आफंैमा सकारात्मक र सराहनीय काम हो,’ अभयाले भनिन्, ‘आजको कार्यक्रम मेरा लागि पनि एउटा सुखद अवसर बन्यो ।’ 

मेलाको उद्घाटन महिला जुडो खेलाडी तथा ओलम्पियन फुपु ल्हामु खत्रीले गरेकी थिइन् । मेलामा हर्स राइडिङ, फेस पेन्टिङ, खेलकुदलगायत मनोरञ्जनका विभिन्न गतिविधि रहेको मेलामा विशेष बालबालिकाहरू निकै रमाएका थिए । मेलामा राखिएका विभिन्न स्वादका परिकारमा रमाएका दर्शकहरू सांगीतिक माहोलमा झनै खुसी देखिएका थिए । कार्यक्रमको व्यवस्थापन पोजिटिभ भाइब्सले गरेको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं