Date:2017/11/23 |Thursday

‘नालापानी’मा नेपाल आर्मीको अडिसन

Posted on: November 15, 2017 | views: 15 |

काठमाडौं । नेपाली चलचित्र ‘नालापानी’ निर्माणको तयारीमा जुट्दै गर्दा कलाकारहरूको अडिसन सुरु भएको छ । प्रोफेसर रामराजा कुँवर र डा. धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा आधारित यो चलचित्रको अडिसनको सुरुमै नेपाल आर्मीको अडिसन भएको छ ।

रिमेश अधिकारीले निर्देशन गर्ने यो चलचित्रमा धेरै दृश्य द्वन्द्वका हुनेछन् जसको कारण पनि दक्ष योद्दा जरुरी छ । योद्दाहरूलाई तयार पार्न समय धेरै लाग्ने भएकोले पनि नेपाल आर्मीका जवानलाई नै अभिनय गराउन लागिएको निर्देशक अधिकारीले बताए । चलचित्रमा युद्धका दृश्य देखाउँदा प्राकृतिक हुनु जरुरी रहेकोले पनि आर्मीबाट नै कलाकारहरू छनोट भइरहेका छन् । यद्यपि प्रमुख भूमिकामा भने नेपाल आर्मीका कलाकार हुनेछैनन् । यो चलचित्रलाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षकलगायत सहयोग गरेको छ ।

नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर यो चलचित्र निर्माण हुने निर्माता मनोज शाक्यले बताए । झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म ‘नालापानी’मा अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, पूजना प्रधान, ईशान बिजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय रहनेछ । सम्राट शाक्य कार्यकारी निर्देशक रहेको फिल्ममा मजोन शाक्य निर्माताको रूपमा रहेका छन् । चलचित्रको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् ।

हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिस साम्राज्यविरुद्ध नेपालले युद्ध लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो आधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्ध लड्नुपरेको थियो । त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालीन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।

कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालीन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाइँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाइँ गर्दागर्दै नेपाली सेना पछाडि हट्न बाध्य बनेको थियो । यसै विषयमा रहेर ‘नालापानी’ चलचित्र निर्माण हुन लागेको हो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं