Date:2017/11/23 |Thursday

चलचित्र निर्माण गाह्रो काम

Posted on: November 15, 2017 | views: 38 |

काठमाडौं । यही आउँदो मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झ्यानाकुटी’  लाई नायिका निशा अधिकारीले निर्माण गरेकी हुन् । चलचित्रमा अभिनय गर्दै आएकी नायिका निशाले पहिलोपटक चलचित्रमा पैसा लगानी गरेकी हुन् । यस अर्थमा पनि निशा यो चलचित्रलाई लिएर धेरै नै ‘सिरियस’ छिन् । प्रदर्शनको नजिकै आइपुग्दा निशाले प्रचारप्रसारको शैलीलाई तीब्र रूपमा अगाडि बढाएकी छिन् । साथै फरक–फरक फण्डा खोज्दै निशाले प्रचारप्रसारको शैली नै नयाँ रोजेकी पनि छिन् ।

निशाले चलचित्र बनाउँदा अभिनय गरेभन्दा धेरै नै गाह्रो हुने बताएकी छिन् । आफ्नै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चलचित्र निर्माण गर्दा कति गाह्रो हुँदो रहेछ भनेर बल्ल बुझेको भन्दै स्टाटससमेत लेखेकी छिन् । ‘झ्यानाकुटी रिलिज हुन लाग्यो । एक वर्ष जति लाग्यो यो प्रोजेक्ट दर्शकमाझ ल्याउन,’ नायिका अधिकारी फेसबुकमा लेख्छिन्, ‘मुभी बनाउन के के कुरा चाहिँदो रहेछ र कत्तिको गाह्रो हुने रहेछ बल्ल बुझेँ । मलाई मेरो पहिलो प्रोडक्सनमा साथ दिनुहुने सम्पूर्णलाई मनैदेखि धन्यवाद ।’ निशाले योभन्दा अघि पत्रकारहरूसँगको भेटघाटमा पनि निर्माणपक्ष भनेको निकै नै गाह्रो पक्ष भएको पनि बताउँदै आएकी थिइन् । आफंैले निर्माण गरेको चलचित्रमा आफैं अभिनय किन गर्नुभएन भन्ने हिमालय टाइम्सको प्रश्नमा निशा भन्छिन्, ‘यदि मैले चलचित्र निर्माण गर्छु भने म अभिनयमा आउँदिन किनकि निर्माण र अभिनय भनेको धेरै फरक छ । निर्माण र अभिनय दुवैतिरको जिम्मेवारी लिनु भनेको चलचित्रलाई खेलाची गर्नुजस्तै हो अर्थात चलचित्रलाई गुणस्तरीय बनाउन सकिँदैन ।’ उनले यसपछि कुनै अन्य चलचित्र निर्माण गरे पनि आफू नायिकाको रूपमा नआउने बताइन् । ‘मैले निर्माण गर्दामै नायिका बनेको अभिनय गर्छु भन्ने कहिल्यै पनि लाग्ने छैन । तर एउटा कुरा के छ भने चलचित्र निर्माण पक्ष एकदम बलियो हुनु आवश्यक छ । मसँगै निर्माणपक्षमा बलियो टिम भयो भने चाहिँ आफू पनि अभिनयमा जानसक्ने सम्भावना रहन्छ नत्र भने निर्माणसँगै अभिनयमा जान्न’, निशाले भनिन् ।

सिमोस सुनुवार निर्देशित चलचित्र आलु प्रोडक्सनको ब्यानरमा बनेको हो । ‘झ्यानाकुटी’ मा  सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं