Date:2017/12/14 |Thursday

८ घण्टा पैदल हिँडेर भोट हाल्न सिकाउँदै

Posted on: November 23, 2017 | views: 36 |

हिमालय टाइम्स

काठमाडौं । झोलामा गाउँले परिभेषका कपडाहरू, ‘महादान’ नाटक लेखेको ब्यानर र भोट हाल्न चाहिने अन्य सामग्रीसहित दैनिक २० टोली यतिबेला पहिलो चरणको निर्वाचनका लागि देशभरका विभिन्न जिल्लामा पुगेका छन् । विगत एक सातादेखि २० नाट्य टोलीले नाटक ‘महादान’ मार्फत निर्वाचन शिक्षा बाँडिरहेका छन् । यसै क्रममा बुधबार पाँचवटा प्रदेशमा निर्वाचन आयोगद्वारा सञ्चालन गरिएको मतदाता शिक्षा नाटक महादान मञ्चन गरेका छन् । 

हिमाल, पहाड र तराईका विभिन्न जिल्लामा पुगेका नाट्य समूहहरू दिनरात भोट हाल्न सिकाउँदै हिँडेका छन् । कतिपय ठाउँमा बाटो तथा सवारीको समस्या हुँदा पनि दैनिक सातदेखि आठ घण्टासम्म पैदल हिँडेर नाटक ‘महादान’ मार्फत निर्वाचन शिक्षा दिनुपरेको नाट्य समूहका कलाकारहरूले बताएका छन् । यसैबीच बुधबार गोरखाको रंगकला समूहले मनाङको नेसाङ गाउँपालिकाको मनाङमा नाटक देखाउन जाँदा उच्च हिमाल, वनफुरको वासना र चिसोका कारण कलाकारलाई लेक लागेर निकै गाह्रो भएको बताएको छ । लेक लागेर त्यो समूहकी कलाकार सीमा विकलाई गाह्रो भएपछि उनलाई त्यहाँको आकस्मिक उच्च हिमाली उद्धार टोलीले मनाङबाट उद्धार गरेर उपचारमा लगिएको बताए । बाँकी कलाकारमा पनि लेकको समस्यामा उनीहरूले अक्सिजन लिएर केही समय आराम गरेपछि त्यहाँ बुधबार नाटक सम्पन्न गरेका थिए । 

‘बुधबार मनाङमा नाटक देखाउन जानेक्रममा उच्च हिमाल, वनफुरको वासना र चिसोका कारण कलाकारलाई लेक लाग्यो र अक्सिजनसमेत दिनु प¥यो । त्यस्तै खोटाङ जिल्लाको विकट पहाडी गाउँमा एक सातादेखि आफ्नो ओढ्ने ओछ्याउने बोकेर बास बस्दै नाटक ‘महादान’ मार्फत भोट हाल्न सिकाइरहेका छन् ।’ 

त्यस्तै स्थानीय भ¥याङ नाट्य समूहले गाउँगाउँमा नाटक देखाउने क्रममा सवारी साधनका लागि सडक नहुँदा सोलुखुम्बु, ओखलढुँगा र खोटाङ जिल्लाको विकट पहाडी गाउँमा वगत एक सातादेखि आफ्नो सामल खाजा र ओढ्ने ओछ्याउने बोकेर बास बस्दै नाटक मञ्चन गरिरहेका छन् । 

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयोजकत्व र आरोहण गुरुकुलको सहकार्य रहेको नाटक ‘महादान’ टोलीले यतिबेला मुलुकको पहिलोचरणको निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन शिक्षा बाँडिरहेका छन् ।

प्रदेश नम्बर १ को ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकाको चाँगे, मिरेनदेन गाउँपालिकाको दोभान गाउँ र मिक्वाखोला गाउँपालिकाको हान्द्रुक बजारमा हाम्रो थिएटर नाटक समूहले महादान मन्चन गरेको छ । लिम्बू र नेपाली भाषाका नाटक देखाइएको यस स्थानमा दर्शक बोलाउन नाटकअगाडि मादल र ढोल बजाएर नाचगान गर्दै गाउँ घुमेको नाट्य टोलीका निर्देशक प्रेम ओझाले बताए । 

प्रदेश १ कै शंखुवासभास्थित धर्मदेवी नगरपालिकाको मुढेबजार र मकालु गाउँपालिकाको नुउम गाउँमा, भोजपुर स्थित भोजपुर नगरपालिकाको बैंकरोड, पौवादुङमा गाउँपालिकाको तिवारी भज्याङ, अरुण गाउँपालिकाको प्याउली गाउँ, ट्याम्के मैयुम गाउँपालिकाको कुटगाउँ र रामप्रसाद राई गाउँपालिकाको दाल गाउँमा आरोहण गुरुकुल विराटनगरले सडक नाटक महादान मञ्चन गरेको छ । सबै ठाउँमा दर्शककोे उल्लेख्य उपस्थिति रहेको निर्देशक दीपेश भण्डारीले जानकारी गराए । 

यस्तै प्रदेश नम्बर ३ मा पर्ने रसुवाको पार्वती कुण्ड गाउँपालिकाको चिलिमे, गोसाइकुन्ड गाउँपालिकाको धुम्सेमा पनि बुधबार नाटक महादान मञ्चन भयो । यी स्थानमा सप्तक कलाप्रतिष्ठाले दर्शकको मागअनुसार नेपालीसँगै तामाङ भाषामा पनि नाटक मञ्चन गरेको थियो । निर्वाचनको विषयमा आफूहरूमा रहेको अन्योलता नाटकले हटाउन सफल भएको स्थानयिले बताएको नाटकका निर्देशक दामोदर खतिवडाले जानकारी गराए ।

प्रदेश नम्बर ४ को तीन जिल्लाका ८ स्थानमा बुधबार नाटक महादान मञ्चन गरियो । जसअन्तर्गत मुस्ताङ जिल्लाको खासाङ गाउँपालिकाको कोवाङ, जोमसोङ गाउँपालिकाको जोमसोङ र मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा नाटक मञ्चन भए । यी स्थानका थकाली गीत गाउँदै भिक्टोरिया इन्टरटेनमेन्टका संगम कायस्थका टोलीले नाटक प्रदर्शन ग¥यो ।

यस्तै बागलुङ जिल्लाको मिसिखोला गाउँपालिकाको मिसीबजार, तमाङ खोला गाउँपालिकाको तामाङ गाउँमा सिड नेपाल समूहले नाटक महादान मञ्चन गरेको छ । डम्बर गिरीका अनुसार ठाउँठाउँमा पहिरो गएका कारण गाडीको समस्याले आठ घण्टासम्म हिँडेर नाटक प्रदर्शन गरियो ।

बुधबार मनाङको नेसाङ गाउपालिकाको मनाङ, चामे गाउँपालिकाको चामेबजार र यसै निर्वाचन क्षेत्र परिसरमा नाटक देखाएको रंगकला नाट्य समूहका रामबाबु रेग्मीले जानकारी गाराए । लेक लागेर बिरामी हुँदा पनि अक्सिजन लिँदै उनीहरूले नाटक देखाए ।

यस्तै बुधबार प्रदेश नम्बर ५ को प्यूठानमा पनि नाटक महादान मञ्चन गरियो । यो स्थानको स्वर्गद्वारी नगरपालिकाको धिन्द्री बजार, माण्डबी गाउँपालिकाको रम्जेबजार, ऐरावती गाउँपालिकाको बरौला बजारमा नाटक मञ्चन गरिएको शारदाकुमार नाट्य समूहका प्रमुख नरेन्द्र कुमारले बताए । 

यस्तै प्रदेश ७ को पनि बाजुरा जिल्लामा पर्ने वेदह गाउँपालिकाको आघी चौरमा नाटक मञ्चन गरियो । यो स्थानमा ४ घण्टाको पैदल यात्रा गरेर नाटक मञ्चन गर्न आफू सफल भएको सु.प सांस्कृतिक मञ्चका अनिल रिजालले बताए । 

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाका अनुसार अहिलेसम्म नै यस्तो तरिकाले ठूलो संख्यामा देशैभरि नाटकमार्फत मतदान शिक्षा दिन नसकिएको र यसपटक आफ्नो पहलमा देशैभरि ३७ टोली परिचालन गरिएको बताए । ‘हामीले देशभरि पहिलो र दोस्रो चरण गरेर नाटक ‘महादान’ टोली खटाएका छौं । पहिलो चरणमा २० नाट्य टोली खटिएका छन् भने बाँकी दोस्रो चरणमा खटिनेछन्’, थापाले भने । विभिन्न ठाउँमा क्रियाशील नाटक टोलीले भौगोलिक अवस्था हेरेर दैनिक एकदेखि ३ स्थानसम्म मात्र महादानमार्फत शिक्षा बाँड्न सफल भएको उनले खुलाए । साथै उनले गाउँ–गाउँमा नाटकमार्फत मतदान शिक्षा दिँदा निकै प्रभावकारी बनेको बताएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं