Date:2017/12/14 |Thursday

भोट हाल्दैनन् यी कलाकार

Posted on: December 07, 2017 | views: 15 | गोपिकृष्ण चापागाईं

काठमाडौं । आज ४५ जिल्लामा एकसाथ प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हुँदैछ । यतिबेला पूरै देश निर्वाचनमय बनेको छ । विगत एक महिनाभन्दा लामो समयदेखि ठाउँ–ठाउँमा राजनीतिक दलका नेता, कार्यकर्ता, कलाकर्मीदेखि सर्वसाधारणसमेत निर्वाचनकै बहस गरिरहेका छन् । निर्वाचनबाट आफ्ना नजिकका दल, दलका नेता चुन्न सबै उत्साहित देखिएका हुन् । यसैबीच कलाकारहरू पनि आफ्नो ठाउँबाट आफूलाई मनपर्ने उम्मेदवारलाई मतदान गर्न कस्सिएका छन् । केही कलाकारहरू त पार्टीको झण्डा नै समातेर प्रचारप्रसारमा लागेका पनि थिए । 

यसैबीच आज हुने दोस्रो चरणको निर्वाचनमा धेरै कलाकारले मतदान गर्दैछन् भने कतिपय कलाकारहरूको भोटलिस्टमा नाम नै छैन भने कतिले कार्यव्यस्तताका कारण भोट हाल्न नपाउने बताएका छन् । यसैबीच आज भोट हाल्न नपाउने कलाकारहरूमध्ये केहीसँग कुराकानी गरेका छौं ।

अभिनेता राजेश हमाल 

यतिखेर अभिनेता राजेश हमाल एक कार्यक्रमको सिलसिलामा भारतको सिमलामा छन् त्यसैले पनि उनले आजको निर्वाचनमा भोट हाल्न पाउने छैनन् । राजेश योपटक पनि काठमाडौं क्षेत्र नं ६ को लैनचौरस्थित बुथबाट भोट हाल्ने तयारीमा थिए तर दुई दिनअघि मात्रै कार्यक्रममा जानुपर्ने भएकोले उनले भोट हाल्न पाएनन् । हमालले यसअघि यसै स्थानबाट भोट हाल्दै आएका थिए । 

हास्य कलाकार सीताराम कट्टेल 

हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट भोट हाल्नुपथ्र्यो तर नमुना बस्ती निर्माणको सिलसिलामा अहिले उनी रौतहटको सन्तपुरमा छन् । त्यसैले पनि उनले यसपटक भोट हाल्न नपाउने बताएका छन् । साथै उनले सबै नेपाली ज–जसको भोटलिस्टमा नाम छ उनीहरूलाई निर्धक्क भएर स्वेच्छाले आफूलाई मनमा लागेको उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । 

कलाकार कुन्जना घिमिरे 

हास्य कलाकार कुञ्जना घिमिरेले पनि आजको निर्वाचनमा भोट हाल्ने छैनिन् । उनी पनि सीताराम कट्टेलसँगै भूकम्पपीडितहरूका लागि नमूना बस्ती निर्माणमा खटिएकाले भोट हाल्न नपाउने बताएकी छिन् । 

गायक रामजी खाँण

लोकदोहोरी क्षेत्रका गायक रामजी खाँणले पनि यो पटक भोट हाल्ने छैनन् । स्याङ्जा क्षेत्र नं २ (ख) बाट यसअघि भोट हाल्दै आएका खाँणले यसपटक आफ्नो नाम मतदाता लिस्टमै नभएको बताएका छन् । फोटोसहितको मतदाता लिस्ट बनाउने क्रममा फोटो खिच्नेबेला कार्यक्रमको सिलसिलामा जिल्लाबाहिर भएकाले उनी भोट हाल्नबाट वञ्चित हुनुपरेको बताउँछन् । उनले सबैले भोट हाल्दै गर्दा आफूले नपाएकोमा दुःख लागेको बताएका छन् । उनी अहिले काठमाडौंमै छन् ।

अभिनेत्री तथा निर्देशक दीपाक्षी निरौला 

अभिनेत्री दीपा श्री निरौलाको भोट लिस्टको नाम विराटनगर क्षेत्र नम्बर २ मा छ तर उनी चलचित्रको सुटिङको कामले काठमाडौंमै छिन् त्यसैले उनले पनि आज भोट हाल्न पाउने छैनिन् । उनले घरका अन्य सदस्यलाई जिल्ला पठाइसकेको बताएकी छिन् । यसपटकको भोट हाल्न नपाएकोमा दीपाले दुःख व्यक्तसमेत गरेकी छिन् ।

अभिनेता निखिल उप्रेती 

अभिनेता निखिल उप्रेतीले पनि यसअघि सर्लाही प्रदेश नम्बर ३ बाट भोट हाल्दै आएका थिए तर अहिले उनी चलचित्रको कामले जिल्लाबाहिर छन् त्यसैले उनले पनि आज भोट हाल्न पाउने छैनन् । 


अभिनेता प्रदीप खड्का 

अभिनेता प्रदीप खड्का चलचित्र ‘लिलिबिली’को छायांकनका लागि यतिबेला बेलायतमा छन् । नेपालमा भए काठमाडौंको बानेश्वरबाट भोट हाल्ने प्रदीपले यसपटक देशबाहिर रहेकै कारण भोट हाल्ने छैनन् ।



अभिनेत्री शिल्पा पोखरेल 

नायिका शिल्पा पोखरेलको मोरङमा मतदाता लिस्टमा नाम छ तर उनी यतिबेला कामको सिलसिलामा पोखरामा छिन् । त्यसैले उनले पनि आजको निर्वाचनमा भोट हाल्नेछैनिन् । 



गायिका मुना थापा मगर 

लोक दोहोरी क्षेत्रकी गायिका मुना थापा मगरले पनि यसअघि गोरखा क्षेत्र नं १ बाट भोट हाल्दै आएकी थिइन् । तर उनको पनि अहिले मतदाता लिस्टमै नाम नभएकोले काठमाडौंमै बसेको बताइन् । मतदाताको नाम टिपाउने क्रममा फोटो खिच्ने समयमा कार्यक्रमको सिलसिलामा जिल्लाबाहिर भएकोले फोटो खिचाउन नपाएको बताएकी छिन् । साथै उनले आफूलाई मन परेको उम्मेदवारलाई भोट हालेर जिताउन पाउने अधिकार गुमेकोमा खिन्नता महसुस भएको बताउँछिन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं