16th October | 2018 | Tuesday | 6:51:24 AM

‘कान्छी’ मा दया र श्वेताको प्रेम

  POSTED ON : Friday, 05 January, 2018 (3:22:44 PM)

‘कान्छी’ मा दया र श्वेताको प्रेम

काठमाडौं । चलचित्र ‘कोहिनूर’ पछि अभिनय र निर्माणमा फर्किएकी अभिनेत्री श्वेता खड्काको चलचित्र ‘कान्छी’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘यो जिउ दाउमा लाउने’ बोलको टाइटल गीत बिहीबार दिउँसो राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । गीतको बारेमा जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा अभिनेत्री श्वेता खड्का, संगीतकार अर्जुन पोखरेल र गीतका शब्द लेखक दयाराम पाण्डे उपस्थित थिए । चलचित्रका निर्देशक आकाश अधिकारी तथा मुख्य अभिनेता दयाहाङ राई भने अनुपस्थित थिए ।

संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर रहेको छ । वसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । 

गीतका संगीतकार अर्जुन पोखरेलले अभिनेत्री श्वेता र निर्देशक आकाश अधिकारी उनीसमक्ष गीतको विषयमा छलफल गर्न जाँदा गीतको एक हरफ मात्र सुनाउँदा त्यसै गीतलाई फाइनल गरेको सुनाएका थिए । ‘चलचित्रको गीतको विषयमा श्वेताजी र आकाशजी मेरोमा आउनुभएको थियो । त्यो बेला अहिलेको यो गीतको एक हरफ मात्र सुनाउँदा दुवैजनाले निकै मन पराउनुभयो र त्यसैलाई फाइनल गर्न लगाउनुभयो’, संगीतकार अर्जुनले भने । साथै उनले दयाराम पाण्डेसँगको सहकार्यका यसअघिका गीत पनि सफल भएको र यो गीतपनि सफल हुनेमा विश्वास लिए । अर्जुनले आफूले यसअघि संगीत गरेका प्रेमसँग सम्बन्धित गीतभन्दा यसमा केही फरकपन ल्याउने कोसिस गरेको बताए । ‘मैले यो गीतमा केही फरकपन ल्याउने कोसिस गरेको छु । पहिलेका प्रेमीका शब्दमात्र भएका गीत पाउनुभएको थियो तर अहिले यो प्रेममय त छ तर केही फरक भेट्नुहुनेछ’, उनले भने ।

कार्यक्रममा नायिका श्वेता खड्काले पहिलो गीतजस्तै दोस्रो गीतलाई पनि दर्शक तथा श्रोताले माया गरिदिने विश्वास लिएको बताइन् । ‘कान्छीलाई दर्शकले यति धेरै माया दिनुभएको त्यसैले यो कोसेली माया गर्नेका लागि ल्याएकी हुँ । आशा छ धेरै माया गरिदिनुहुनेछ’, श्वेताले भनिन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्ज्वल सुजल गिरी र तेस्रोलिंगी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

चलचित्रको पहिलो गीत ‘चरी चट्ट परी’ ले पनि दर्शकको मन जितेको छ । यो गीतलाई युट्युबमा बिहीबारसम्म ७५ लाख बढी पटक हेरिसकिएको छ ।  उक्त गीतलाई राजनराज शिवाकोटीको संगीत तथा स्वर रहेको छ भने स्वरमा राजनराजलाई अन्जु पन्तले साथ दिएकी छिन् ।

आकाश अधिकारीले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत चलचित्र निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् । चलचित्र आउँदो फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।


Views: 61