20th January | 2018 | Saturday | 7:18:57 AM

हलमा ‘राज्जा रानी’

  POSTED ON : 2018-01-05 08:34:08

हलमा ‘राज्जा रानी’

काठमाडौं । आज शुक्रबारबाट देशभरका पचासबढी हलमा चलचित्र ‘राज्जा रानी’ प्रदर्शन भइरहेको छ । तराईमा व्याप्त रहेको दाइजोप्रथाको विषयलाई उठाएको यो चलचित्रमा नायक नाजिर हुसैन र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको छ । मैथिली र नेपाली दुवैभाषामा प्रदर्शन भइरहेको यो चलचित्रलाई याम थापाले निर्देशन गरेका हुन् ।

‘राज्जा रानी’को बुधबार राजधानीमा भव्य प्रिमियरसमेत गरियो । थुप्रै चलचित्रकर्मी तथा सञ्चारकर्मीमाझ गरिएको प्रिमियमबाट चलचित्र टिमले निकै राम्रो प्रतिक्रिया पायो । चलचित्रको विषय र कलाकारको अभिनयको तारिफ धेरै चलचित्रकर्मीले खुलेरै गरेको पाइएको थियो । धेरैले चलचित्रको तराई क्षेत्रमा व्याप्त दाइजो प्रथा र बुहारीलाई दाइजोकै कारण गरिने अभद्र व्यवहारको कथालाई मन पराएका छन् । 

प्रिमियरमा एमालेका चर्चित नेता लालबाबु पण्डितसमेत श्रीमतीसँग हल पुगेका थिए । प्रियिमरमा पण्डितले ‘विषयगतरूपमा मधेस छिर्न सफल फिल्म’ भन्दै ‘राज्जा रानी’को तारिफ गरेका छन् । चलचित्र हेरेपछि पाएको प्रतिक्रियाबाट आफूहरू निकै खुसी र गरेको काम राम्रो भएको महसुस बल्ल गरेको कलाकार नाजिर हुसेन र केकी अधिकारीले बताए । ‘काम त राम्रो गरेका थियौं तर आउटपुट कस्तो आउँछ त्यसमा निकै ढुकढुकी थियो । अहिले प्रिमियरबाट आएको प्रतिक्रियाले निकै उत्साहित बनाएको छ’, केकीले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन् । साथै नाजिरले पनि निकै मेहनतका साथ गरेको कामको फल मिठो पाएको बताए ।  

चलचित्रमा अतिथि भूमिकामा नायिका रेखा थापालाई राखिएको छ । उनले चलचित्रमा एक आइटम डान्ससमेत गरेकी छिन् । चलचित्रका सहायक भूमिकामा रहेका कामेश्वर चौरसियाको अभिनयबाट दर्शकले खुबै मनोरञ्जन लिन सक्नेछन् । 

चलचित्रमा केकी र नाजिरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारको पनि अभिनय छ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगन्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन्  ।