23rd July | 2018 | Monday | 12:05:34 AM

‘सुरक्षा’ विमोचित

  POSTED ON : Sunday, 07 January, 2018 (3:32:20 PM)

‘सुरक्षा’ विमोचित

हिमालय टाइम्स

काठमाडौं । राष्ट्रियप्रेमले ओतप्रोत आठ गीत समावेश गरिएको संगीतकार सन्तोष श्रेष्ठको ‘सुरक्षा’ गीतिएल्बम विमोचन गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतका विभिन्न गीतकारका शब्दमा रहेका आठवटै गीतमा संगीतकार श्रेष्ठले संगीत भरेका छन् । एल्बम शनिबार भृकुटीमण्डपस्थित पर्यटन बोर्ड हलमा राष्ट्रकवि घिमिरेले विमोचन गरे ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेद्वारा लिखित ‘पश्चिम रुन्छ महाकाली’ बोलको गीतको भिडियो पनि देखाइएको थियो । गीतमा शिव परियारले स्वर दिएका छन् भने भिडियोलाई शान्ति प्रियले निर्देशन गरेका छन् । भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को छायांकन छ । एल्बममा समावेश अन्य गीतमा गीतकार कालि प्र. रिजाल, श्रीपुरुष ढकाल, दीपक जंगम, नवराज लम्साल लगायतको शब्द छ । विमोचन कार्यक्रममा राष्ट्रकवि घिमिरेको हातबाट गीतसँग सम्बन्धित विभिन्न प्राविधिक तथा स्रष्टालाई एल्बम उपहारस्वरूप दिइएको थियो भने राष्ट्रकवि घिमिरेलाई भने संगीतकार श्रेष्ठले एल्बम उपहार दिएका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ९९ वर्षीय राष्ट्रकवि घिमिरेले संगीतकार श्रेष्ठले राष्ट्रियभावले भरिएको एल्बम बजारमा ल्याउँदा निकै खुसी लागेको बताए । उनले अहिलेको समयमा राष्ट्रिय गीत बजारमा ल्याउनु चुनौती पनि रहेको बताए । ‘समय धेरै परिवर्तन भएको छ । राष्ट्रिय गीत बजारमा आउन छाडिसकेका छन्, त्यसैबीच सन्तोष श्रेष्ठले राष्ट्रिय गीतको एल्बम नै ल्याउनु भयो यो धेरै ठूलो कुरा हो ।’, घिमिरेले भने । साथै घिमिरेले अहिलेका पुस्तालाई राष्ट्रिय गीतप्रति इच्छा राख्न आग्रहसमेत गरे । कार्यक्रममा गीतकार कालिप्रसाद रिजालले पनि अहिलेका युवा गीतमा गम्भीर नहुने बताए । उनले आफूलाई गीत लेखिदिनुस् भन्दै आउनेप्रति गम्भीरता नरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘अहिलेका युवा गीत लेखिदिनुस् भन्दै आउँछन् तर उनीहरूलाई चटपटे गीत चाहिन्छ, देशप्रेमी गीत, शब्दमा भाव भएका गीत रुचाउँदैनन् । जमाना धेरै परिवर्तन भइसकेछ’, गीतकार रिजालले भने । रिजालले संगीतकार श्रेष्ठको मन जस्तै अन्य स्रष्टाहरूको पनि मन हुनुपर्ने बताए । साथै गीतकार दीपक जंगमले पनि अहिलेका मिडियाहरूले राष्ट्रिय गीतलाई स्थान नदिएको भन्दै दुःख व्यक्त गरे । राष्ट्रिय गीतबाट कुनै आम्दानी नहुने भन्दै पहिल्लो पुस्ता यस्ता गीत निर्माणबाट पन्छिदै गएको उनको भनाइ थियो । त्यस्तै गीतकार डा. नवराज लम्सालले ‘सुरक्षा’ एल्बममा तीन किसिमका गीत रहेको बताए । अन्तर हृदयबाट देशभाव जोडिएका गीत, नेपाली विम्बहरूलाई टेकेर बिम्वहरूको माध्यमबाट देशलाई माया गरिएका गीत र नेपाली बिम्वहरूको बारेमा मात्र लेखिएका गीत ‘सुरक्षा’मा समावेश गरिएको उनको भनाइ थियो । साथै लम्सालले कुनैपनि स्रष्टाहरूलाई गीत लेख्दा सबैले प्रशंसा गर्नेखालका गीत लेख्न पनि आग्रह गरेका थिए । ‘आफूले सयौं गीत गाएको छु भन्दै हिँड्ने तर दुई÷चारजना मानिसको बीचमा गीत सुनाउनुपर्दा मनछुने कुनै पनि गीत छैनन् भने गणनामा मात्र सीमित रहन्छन्’, डा. लम्सालले भने । संगीतकार श्रेष्ठले वरिष्ठ गीतकारहरूको शब्दमा आफूले संगीत गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै उनले राष्ट्रयगीतमा आफूलाई निकै रुचि रहेको पनि बताए । कार्यक्रममा थुप्रै गायक÷गायिका तथा अन्य स्रष्टाहरूको उपस्थिति थियो ।