23rd July | 2018 | Monday | 7:36:08 PM

आर्मीको कथामा शेरबहादुर

  POSTED ON : Sunday, 07 January, 2018 (3:37:39 PM)

आर्मीको कथामा शेरबहादुर

काठमाडौं । आउँदो माघ १९ लाई रिलिज मिति तय गरेको चलचित्र ‘शेरबहादुर’ अवकाश प्राप्त एक आर्मीको कथामा घुमेको निर्माण पक्षले जनाएको छ । ‘चलचित्रको मुख्य पात्र शेरबहादुर एक सन्की मान्छे हुन्छ । निडर, सन्की र बलियो शेरबहादुरकै पेरिफेरिमा चलचित्र घुम्छ’, चलचित्र टिममध्येका एकले भने । शेरबहादुर आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाउँछ । त्यही योजनाभित्र रुमलिएका अन्य पात्रसँगको अवस्था चलचित्रले चित्रण गरेको छ ।

चलचित्रको मुख्य पात्रको रूपमा वरिष्ठ कलाकार सुनिल थापा देखिएका छन् । सुनिलको अलवा कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको मुख्य भूमिका फिल्ममा रहेको छ । एक्सन, रोमान्स, ड्रामा समावेश फिल्मप्रति निर्माण पक्ष अपेक्षित छन् । चलचित्रको नामले राजनीतिक गन्ध ल्याएपनि यो कुनै राजनीतिसँग सम्बन्धित चलचित्र नभएको निर्माण युनिटले प्रस्ट पारेको छ । यस फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दाबी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताइएको छ । चलचित्रका निर्देशक आर राजवंशी हुन् भने निर्माताका रूपमा वरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० वर्षदेखि अनवरत रूपमा लाग्दै आइरहेका छन् । 

केही समयअघि मात्रै चलचित्रको ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक गरिएको थियो । जसमा चलचित्रका मुख्य कलाकार कर्मा, मेनुका र रवीन्द्रलाई फिचरिङ गरिएको छ । गीतमा कोसिस क्षेत्री र मिना निरौलाको स्वर रहेको छ भने कोसिसले नै शब्द तथा संगीत भरेका छन् ।