19th July | 2018 | Thursday | 1:40:56 PM

प्रियंका कार्की भन्छिन् - ११ करोड माग्ने दिन कहिले आउँला ?

  POSTED ON : Monday, 08 January, 2018 (4:16:09 PM)

प्रियंका कार्की भन्छिन् - ११ करोड माग्ने दिन कहिले आउँला ?

हिमालय टाइम्स

काठमाडौं । नायिका प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समय निकै व्यस्त नायिकाको रूपमा चिनिन्छिन् । उनले अभिनय गरेका धेरै चलचित्रले धुम मज्जाउन नसके पनि उनलाई चलचित्रको कुनै खाँचो भने छैन । फुर्सदमा बस्न मन नपराउने प्रियंकाले चलचित्रको स्क्रिष्ट हेरेर काम गर्ने गर्छिन् । 

प्रियंकाले पछिल्लो समय अभिनय गरेका चलचित्रमध्ये ‘छक्का पञ्जा २’ ले मज्जैले धुम मच्चायो । त्यस्तै उनका अन्य चलचित्रले औषत व्यापार गरिरहेका छन् । यस्तैक्रममा अब अर्को साताबाट प्रियंका अभिनित चलचित्र ‘बटरफ्लाई’ प्रदर्शनमा आउँदैछ । भर्खरमात्र चलचित्र ‘लिलिबिली’को छायांकन सकाएकी प्रियंका ‘बटरफ्लाई’ को प्रमोशनमा समय दिनसमेत भ्याएकी छैनन् ।

उनले आफूले पहिलोपटक सिम्पल लभस्टोरी चलचित्रमा काम गरेको बताउँछिन् । आइतबार चलचित्र ‘बटरफ्लाई’को विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रियंकाले बलिउडमा जस्तो नेपाली चलचित्रमा कहिले होला भन्ने प्रश्नसमेत गरिन् । पत्रकारले प्रियंकालाई चलचित्रको प्रमोशनमा किन नहिड्नु भएकोदेखि नयाँ वर्षमा प्रेमीसँग पोखरा किन जानुभएको’ सम्म प्रश्न गरे । 

प्रियंकाले धेरै चलचित्र किन गर्नुभएको भन्ने प्रश्नमा भन्छिन्, ‘मैले धेरै चलचित्रमा काम गरेकी छैन् । प्रदर्शन हुने मिति एकै समय हुँदा त्यस्तो लागेको हुनसक्छ’, प्रमोशनमा नहिँडी धेरै चलचित्रमा पैसाकै लागि काम गर्नुभएको हो ? भन्ने प्रश्नमा प्रियंका भन्छिन्, ‘मैले पैसाको पछि लागेर चलचित्र गरिरहेको छैन । यदि कसैले ११ करोड दिन्छ भने म वर्षमा एउटा मात्र चलचित्र गर्न तयार छु । पब्लिसिटीमा मज्जैले हिँड्छु । तर, बलिउड जस्तो हाम्रो बजार ठूलो छैन । अझै धेरै वर्ष लाग्छ एउटा नेपाली कलाकारले ११ करोड पारिश्रमिक लिने दिन आउन ।’ उनले अहिलेसम्म आफूले गरेको चलचित्रबाट पाएको पारिश्रमिकबाट खुशी रहेको बताइन् । पैसाभन्दा चलचित्रमा आफ्नो भूमिका कति सशक्त छ भन्ने कुरा महŒवपूर्ण रहेको प्रियंकाको बुझाइ छ । 

‘मेरो अरू साइड विजनेश छैन । उठेदेखि सुतेसम्म म फिल्मकै विषयमा सोच्छु । आफू बाँच्न मैले फिल्म नै गर्नुपर्छ ।’ प्रियंकाले आफ्नो एक सिम्पल लभस्टोरी चलचित्रमा काम गर्ने इच्छा ‘बटफ्लाई’ बाट पूरा भएको बताउँछिन् । 

नायक आर्यन अधिकारीले एउटा फरक प्रेम कथामा काम गरेको बताए । प्रियंकाले पनि एउटा फरक र रोचक प्रेम कथाको चलचित्रमा काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् । चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । चलचित्र आउँदो शुक्रबार अर्थात् पुस २८ गतेबाट देशव्यापी प्रदर्शनमा अउँदैछ ।