15th October | 2018 | Monday | 10:39:16 PM

फिर्के र राज्जा रानीको सुखद् ब्यापार

  POSTED ON : Monday, 08 January, 2018 (6:54:13 PM)

फिर्के र राज्जा रानीको सुखद् ब्यापार

काठमाडौं । गएको शुक्रबारबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘फिर्के’ र ‘राज्जा रानी’ले सुखद् ब्यापार गर्दै छन् । फरक कथामा निर्माण भएका यी दुई चलचित्रको मल्टिप्लेक्समा भन्दा सिंगल हलमा दर्शको उपस्थिति बढी देखिन्छ । प्रदर्शनको शुक्रबारको दिन र शनिबार दर्शकको उपस्थिति बाक्लो भएपनि आइतबारबाट हलमा दर्शकको संख्या हृवात्तै घटेको छ । आइतबार दुवै चलचित्रमा दर्शकको औसत उपस्थिति छ । 

मैथिली भाषामा प्रदर्शन भएको ‘राज्जा रानी’को कलेक्सन तराई क्षेत्रका हलमा भने राम्रो छ । समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो चलचित्रले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘फिर्के’को कथावस्तु र प्रस्तुतिलाई दर्शकले रूचाएका छन् । यी दुवै चलचित्रको लाइफटाइम कलेक्शन आइतबारदेखिको व्यापारमा भर पर्नेछ ।

चलचित्र रिलिजसँगै ‘फिर्के’को युनिट शुक्रबार र शनिबार हल हलमा दर्शक प्रतिक्रिया लिन पुगेको थियो । फिल्मका कलाकार तथा निर्माता सुलेमान शंकर ‘ईकु’ र निर्देशक रवि डंगोल ‘बेमान’ले दर्शकको प्रतिक्रियाले उत्साहित रहेको बताएका छन् । यस्तै, ‘राज्जा रानी’ युनिट पनि दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रशन्न देखिएको छ । 

दाइजो प्रथाको कथा बोल्ने ‘राज्जा रानी’मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । 

यस्तै, गाउँबाट शहर पसेपछि सुरु हुने एक युवकको संघर्षको कथा फिल्म ‘फिर्के’ले बोल्छ । चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापालगायत कलाकारको अभिनय छ ।


Views: 63