26th April | 2018 | Thursday | 11:38:05 PM

भर्जिनियामा ‘पञ्चायत’ प्रिमियर

  POSTED ON : Tuesday, 09 January, 2018 (4:17:06 PM)

भर्जिनियामा ‘पञ्चायत’ प्रिमियर

काठमाडौं । नेपालमा आउँदो चैत २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पञ्चायत’को अमेरिकाको भर्जिनियामा प्रिमियर गरिएको छ । नेपालको पुरानो सामाजिक व्यवस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइएको यो चलचित्रको प्रिमियरमा चलचित्रका मुख्य कलाकार सरोज खनाल भर्जिनिया पुगेका थिए । 

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा चलचित्र ‘पञ्चायत’ले ‘विदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो । चलचित्र ‘पञ्चायत’को प्रिमियर र अन्य विशेष शो कालागि अभिनेता सरोज खनाल अहिले नेपालबाट अमेरिका गएका हुन् । प्रिमियरबाट निकै राम्रो प्रतिक्रिया मिलेको अभिनेता खनालले जानकारी दिएका छन् । चलचित्र हेरेर निस्केका सबैजसो दर्शकले चलचित्र निकै राम्रो बनेको भन्दै खुलेरै प्रशंसा गरेका छन्  । चलचित्रको कथा बस्तु र सरोज खनाल र निता ढुंगानाको अभिनयको सबैले तारिफ गरेका छन् ।

चलचित्र ‘पञ्चायत’मा शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा सरोज खनाल , निता ढुंगाना, रूपा राना, गीता अधिकारी, गणेश गिरी, जान्हवी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुंगेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला, राजु बाबु श्रेष्ठ्लगायतको मुख्य भूमिका रहेको छ । गणेश गिरीको प्रस्तुति रहेको चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।