17th October | 2018 | Wednesday | 5:52:24 PM

बर्षा–प्रशान्त आउट

  POSTED ON : Monday, 12 February, 2018 (3:27:53 PM)

बर्षा–प्रशान्त आउट

काठमाडौं । नायिका वर्षा सिवाकोटी र खलनायक प्रशान्त ताम्राकार चलचित्र ‘रानीमहल’ बाट बाहिरिएका छन् । केही साताअघि मात्रै राजधानीको पाँचतारे होटलमा पत्रकार सम्मेलनका बीच चलचित्र निर्माणको घोषणा गर्दै छायांकनमा निस्कने जानकारी दिइएको थियो । तर चलचित्रको छायांकन तोकिएको समयमा हुन नसक्दा यी दुई कलाकार बाहिरिएका हुन् । 

चलचित्रको विषयवस्तु र निर्माण टिम राम्रो लागेकाले पनि लामो समयदेखि अन्य चलचित्रको अफरलाई पनि रिजेक्ट गरेरै कुर्दै आएको नायिका वर्षाले बताएकी थिइन् । साथै वर्षाले असारमै चलचित्र साइन गरेर अग्रीम भुक्तानीसमेत लिइसकेकी थिइन् । साथै प्रशान्तले पनि मोटो रकम लिएर यस चलचित्रमा अभिनय गर्न राजी भएका थिए ।

चलचित्र घोषणाको लामो समयसम्म पनि छायांकन सुरु हुननसक्दा कुर्न नसकेको बताउँछन् । वर्षाले ‘रानीमहल’ कै लागि भनेर चारवटा चलचित्रको अफर रिजेक्ट गरिसकेकी छिन् । ‘मैले यही चलचित्रका लागि भनेर सातमहिना कुरिसकेँ तर अझै पनि छायांकन सुरु भएन । अझै फागुनसम्म पर्खिन तयार थिएँ, तर छायांकन तत्काल सुरु हुने देखिएन त्यसैले बाहिरिएकी हुँ ।’, वर्षाले भनिन् ।

यस्तै, प्रशान्तले पनि चलचित्रको छायांकन ढिला सुरु हुने भएपछि ‘रानीमहल’ छाडेको जानकारी दिए ।उनले भने, ‘अफिसियल रूपमा मैले साइनिङ अमाउन्ट फिर्ता गर्दै चलचित्र छाडिसकेको छु । चाँडै मेरो नयाँ चलचित्र ‘रणवीर’ को छायांकन सुरु हुँदैछ । म एकसाथ दुई चलचित्रको सुटिङ गर्न सक्दिनँ । त्यसैले ‘रानीमहल’ छाडेँ ।’ हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्र ‘रानीमहल’ मा आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेललगायत नयाँ कलाकारहरूको मुख्य भूमिका रहने छ ।


Views: 4