16th December | 2018 | Sunday | 7:03:50 PM

गाँजा बाजामा सुशील–अनुपमको तारिफ

  POSTED ON : Monday, 12 March, 2018 (4:38:43 PM)

गाँजा बाजामा सुशील–अनुपमको तारिफ

काठमाडौं । गएको शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘गाँजा बाजा’ले मध्यम ब्यापार गरिरहेको छ । दुई युवाको एकदिनको संघर्षकथालाई रोचक शैलीमा प्रस्तुत गरिएको यो चलचित्रको शनिबार सञ्चारकर्मीलाई विशेष शो देखाइयो । 

शो हेरिसकेपछि अधिकांश सञ्चारकर्मीले चलचित्रको तारिफ गरे । साथै मुख्य कलाकार सुशील सिटौला र अनुपम शर्माको तारिफ अधिकांशले गरेका थिए । चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् भने चलचित्रमा दीपेन्द्र रेग्मी र गोमा विष्टको लगानी छ । 

दुई युवा गाँजा खानका लागि भांैतारिएको कथालाई रोचक तरिकाले चलचित्रमा देखाइएको छ । निर्देशक पाण्डेले नै चलचित्रको कथा लेखेका हुन् । चलचित्रबाट राम्रो प्रतिक्रिया मिलेपछि निर्देशक पाण्डे आफू उत्साहित भएको बताए । साथै निर्माताद्वयले पनि निकै संघर्षका साथै चलचित्र प्रदर्शनमा आएपछिको राम्रो प्रतिक्रियाले खुशी बनाएको बताए ।

निर्देशक पाण्डेको निर्देशकीय पक्ष, याकोपो रास्लिकको छायांकन र कलाकार द्वय सुशील र अनुपमको कामले तारिफ पाएको थियो । सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट पाएको यो चलचित्रमा वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतको अभिनय छ । दुई वर्षअघि निर्माण भएको यो चलचित्रले नामकै कारण धेरै झमेला व्यहोर्नु परेको थियो । 

चलचित्रको नाममा गाँजा शब्द राखिनु हुँदैन भनेर चलचित्र विकास बोर्डले अनुमति नदिएपछि लामो समय प्रदर्शनबाट रोकियो र निर्माण टिम सर्वोच्च अदालतसम्म पुगेपछि न्याय पाएको थियो । टुका इन्टरटेन्टमेन्ट र डिआर फिल्मसको व्यानरमा चलचित्र निर्माण भएको हो । चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।


Views: 13