18th September | 2018 | Tuesday | 9:35:24 PM

नेप्टेमा दयाहाङ भिलेन

हिमालय टाइम्स   POSTED ON : Tuesday, 13 March, 2018 (5:25:49 PM) Views: 0

नेप्टेमा दयाहाङ भिलेन

काठमाडौं । चलचित्र ‘नेप्टे’ को केही समयअघि गीत सार्वजनिक भएको थियो । उक्त गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई फिचर नहुँदा धेरैले दयाहाङको भूमिका थाहा पाएका थिएनन् । निर्माण टीमले दयाहाङको भूमिका खुलाएको पनि थिएन । कतिले दयाहाङको अनुहारमात्र पोष्टरमा राखियो भनेर आरोपसमेत लगाइएको निर्माण टिम बताउँछन् । 

यसैबीच चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दयाहाङको भूमिका प्रष्ट भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरियो । जसमा दयाहाङले खलनायक (भिलेन) को भूमिका निभाएका छन् । धेरै चलचित्रमा सकारात्मक भूमिका निभाएका दयाहाङ यो चलचित्रमा भने नकारात्मक भूमिका निभाएको निर्माण टिमले जानकारी दियो । चलचित्रमा दयाहाङ नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङको प्रेममा बाधक बनेर आउँछन् । 

कार्यक्रममा चलचित्रका निर्माता तथा नायक रुम्बाले दयाहाङको भूमिकालाई लिएर धेरैले फरक–फरक किसिमका आरोप लगाएको पनि बताए । ‘धेरैले दयाहाङको अनुहारमात्र बेचेर फिल्म बनायो पनि भने धेरैले चलचित्रमा दयाहाङ छैनन् कि कसो भनेर प्रश्न गरिरहेका थिए । उनीहरूका लागी ट्रेलर देखाएपछि उत्तर दिइराख्नुपर्छ जस्तो लाग्दैन’, उनले भने । 

यस्तै चलचित्र पूर्णरूपमा तयार गर्न आफूलाई तीन वर्ष लागेको उनी बताउँछन् । चलचित्रकी नायिका छुल्ठिमले पनि चलचित्र निकै राम्रो बनेको र सबैलाई एकपटक हेरिदिन आग्रह गरिन् । ‘चलचित्र निकै राम्रो बनेको छ त्यसैले सबै दर्शकलाई हेरिदिन अनुरोध गर्छु’, उनले भनिन् । 

चलचित्रको ट्रेलरमा कमेडी शैलीमा देखिएका कलाकार बुद्धि तामाङले चलचित्रमा एक्शनको पाटो गर्दा गाह्रो भएको बताए । उनले आफूलाई नृत्य र एक्शन गर्न गाह्रो हुने बताए । ‘यो मेरो काम हो जसरी पनि पूरा त गर्नुपर्छ । मलाई एक्शन र नृत्य गर्न अलि गाह्रो पर्छ, तर पनि पूरा मिहिनेतका साथ गरेको छु’, उनले भने ।

चलचित्र देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको चलचित्रमा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरि घले लामाले खिचेका हुन् । चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाललगायत कलाकारहरूको अभिनय छ । चलचित्र चैत ३० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।