18th October | 2018 | Thursday | 1:58:23 PM

माग्नेबुढालाई तक्मेबुढाको प्रश्न

गोपिकृष्ण चापागाईं   POSTED ON : Thursday, 12 April, 2018 (9:00:17 PM)

माग्नेबुढालाई तक्मेबुढाको प्रश्न

काठमाडौं । नेपाली हास्यव्यंग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे (माग्नेबुढा) ले बुधबार आफ्नो ४४ औं जन्मदिन मनाएका छन् । अन्यवर्ष भन्दा यो वर्ष धेरै ठाउँमा केक काटेको बताएका केदारले आफूप्रति दर्शक तथा मिडियाले दिएको माया कहिल्यै बिर्सन नसक्ने बताएका छन् । उनले बिहान उठेदेखि पाँच ठाउँमा केक काटेर साँझमात्र घरमा सपरिवार जन्मदिन मनाएका थिए । साँझ चारबजे रेडियो अडियोको प्रांगणमा पाँचौं केक काटेका केदारलाई हास्य कलाकार विल्सन विक्रम राई र दीपकराज गिरीले केक खुवाएरै शुभकामना दिए । दीपकराजले पछिल्लो समय माग्नेबुढाको पारिश्रमिक बढेसँगै उनको हास्यव्यंग्य क्षेत्रको बौद्धिकतामा पनि वृद्धि हुँदै जाओस् भन्दै शुभकामना दिए भने तक्मेबुढा अर्थात विल्सनले भने माइक समातेरै धेरैबेर ठट्यौली प्रश्न पनि गरे । 

कतिऔं केक ? 

रेडियो अडियोको प्रांगणमा माग्नेबुढा पुग्नुभन्दा अघि तक्मेबुढा पुगेका थिए । माग्नेबुढालाई चारबजेको समय दिइएको थियो तर उनी साढेचारसम्म पुगेका थिए । यसैबीच तक्मेबुढाले भेट्नासाथ उनलाई जन्मदिनको शुभकामना भन्दै हाँसोका शब्द एकोहोरो दिइरहेका थिए । सुरुमै अरुले यति धेरै कुरा काट्न सक्दैनन् होला माग्नेले आज त्यति धेरै केक काट्यो भन्दै माहोल रमाइलो बनाए । त्यससँगै उनले माग्नेलाई पहिलो प्रश्न गरे यो कतिऔं केक ? माग्ने बुढाले केहीबेर सम्झिए र भने– पाँचौं केक, विशेष गरी मिडियाका साथीले उनलाई केक काटिदिएको बताए । ‘बिहान उठेदेखि अहिलेसम्म धेरै फोन आए र केक धेरैले काटिदिनुभयो, अझ भन्नुभएका सबै ठाउँमा पुग्न पाइनँ त्यसका लागि क्षमा चाहन्छु’, माग्नेबुढाले भने । 

पहिलो केकको अनुभव ? 

तक्मेबुढाले माग्नेबुढालाई जीवनकै सुरुमा जन्मदिन मनाउँदा कहाँ केक काटियो र अनुभव कस्तो रह्यो भनेर प्रश्न गर्दा माग्नेले पहिलोको अनुभव ठ्याक्कै याद नभएको उत्तर दिए । त्यस्तै उनले अहिलेजस्तो सामाजिक सञ्जाल जस्तो सम्झना राखिदिने केही नभएकोले जन्मदिन पनि खासै याद नहुने गरेको बताए । उनले रेडियो अडियोले नै केक काटिदिने गरेपछि मात्र बानी परेको बताए । ‘मैले यसरी केक काट्ने गरेकै थिएन, अहिले पनि घरमा केक काट्ने गर्दिनँ । यसरी नै साथी भाइले माया गरेर काटिदिनुहुन्छ, रेडियो अडियोले वर्षेनी जन्मदिनमा यतिधेरै माया गर्छ । यसमै खुसी लाग्छ’, उनले भने ।

दिनभरिको योजना के ? 

तक्मेबुढाले दिनभरिको योजना कस्तो थियो भन्दै गर्दा माग्नेबुढाले हँस्यौली शैलीमै उत्तर दिए, ‘अरु भन्दा पनि दिनभरिमा पेट घटाउने योजनामा लागे, किनकि धेरै केक खाँदा खाँदा पेट नै ठूलो भयो त्यसैले ठूलो योजना यही थियो’, यस्तै उनले पछिल्लो समय सार्वजनिक ठाउँमा हिँड्दा नेपालमै बनेको पोसाकमा हिँड्ने निर्णय गरेको बताए । 

माग्नेबुढा पछिल्लो समय चलचित्रका लागि महँगो पारिश्रमिक लिएकाले पनि चर्चा चुलिएको छ । यो विषयमा कुरा गर्दै उनले अब यो कुरा नै ननिकालिदिए हुन्थ्यो भन्ने धारणा राखे । ‘धेरै ठाउँमा यही कुरा भएकोले अबचाहिँ यो कुरा नगरिदिए हुन्थ्यो नि भन्ने जस्तो लाग्दो रहेछ’, माग्नेबुढाले भने । रेडियो अडियोका प्रबन्ध निर्देशक दीपेन्द्र खनियाले पनि केदारलाई केक खुवाउँदै शुभकामना दिएका थिए ।


Views: 3