18th October | 2018 | Thursday | 12:39:59 PM

सानो पर्दामा ५० वर्षअघिको कथा

  POSTED ON : Saturday, 14 April, 2018 (5:15:35 PM)

सानो पर्दामा ५० वर्षअघिको कथा

हिमालय टाइम्स

काठमाडौं । यही आउँदो नयाँ वर्षबाट निर्देशक बद्री अधिकारीले नयाँ टेलिचलचित्र लिएर आउने भएका छन् । सामाजिक कथामा निर्माण गरिएको टेलिचलचित्र मानव जनता टेलिभिजनमा हरेक शनिबार राति ८ः४५ बजे प्रसारणमा आउन लागेको हो ।

निर्देशक अधिकारीले यसभन्दा अघि सफल मानिएका ‘अविरल बग्दछ इन्द्रावती’, ‘मौन आकाश’, ‘सहयात्री’, ‘कोरस’ लगायतका सफल टेलिसिरियल बनाइसकेका छन् । मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको महाकाव्य मानवमा आधारित भएर निर्देशक अधिकारीले मेगा टेलिचित्रका रूपमा मानव निर्माण गरेका हुन् । टेलिचलचित्र मानवलाई जनता टेलिभिजनलेनै निर्माण गरेको हो । निर्देशक अधिकारीका अनुसार टेलि शृंखला मानवले पाँच दशक अघिको नेपाल र सामाजिक अवस्थालाई चित्रण गर्नेछ । अझै अवशेषमा रहेको पश्चिम नेपालको ग्रामीण भेगको रुढीवादी, छुवाछूतको कथा मानवमा देखाइने उनले जानकारी दिए । 

आममानिसको जीवनशैलीमा परिवर्तन आएपनि सोच भने पुरातन रहेकाले मानव अहिलेको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको निर्देशक अधिकारीले बताए । 

यस्तै टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईंले पछिल्लो समयमा हास्य चलचित्र र व्यापारका नाममा बनाइएका मसलाप्रधान चलचित्र हेरिरहेका दर्शकहरूका लागि मानव फरक स्वाद हुने बताएका छन् । मोदनाथ प्रश्रितको महाकाव्यमाथि निर्माण गरिएको मानवको लेखन निर्देशक अधिकारी आफैँले गरेका हुन् भने सागर खड्का र वीरेन्द्र भट्टले खिचेका छन् । दीपेन्द्र दोङ तामाङ कार्यकारी निर्माता हुन् । यस्तै प्रमुख सहायक निर्देशक किशोर कोइराला, सम्पादन हरि सिलवाल र  संगीत शिलाबहादुर मोक्तान, गीत राजेन्द्र थापा, स्वर दीप श्रेष्ठ र शारदा अधिकारीको रहेको छ । 

५५ भागको टेलिशृंखला मानवमा सुशील पोखरेल, अस्मिता बस्नेत, श्याम खड्का, शारदा अधिकारी, लक्ष्मण विक्रम बस्नेत, अञ्जान शर्मा, अर्जुन न्यौपाने, आना देउजा, शिशिर शिवाकोटी, उमा बाँनिया, कमल बोहरा र किशोर कोइरालालगायतका कलाकारहरूको अभिनय रहेको छ । 

 


Views: 5