15th October | 2018 | Monday | 11:14:58 PM

सुरु भयो संगीत स्टार

  POSTED ON : Saturday, 14 April, 2018 (5:18:05 PM)

सुरु भयो संगीत स्टार

काठमाडौं । पछिल्लोसमय नेपालमा गायन रियालिटी शो आयोजनाहरू एकपछि अर्को गर्दै भइरहेका छन् । गतवर्ष ‘नेपाल आइडल’ देशभरीनै गायकक्षेत्रमा रुचि भएकाहरूलाई ठूलो अवसरको रूपमा आयो त्यसलगत्तै अहिले नेपाल आइडलकै दोस्रो संस्करण सुरु भइसकेको छ भने अर्को आयोजकले ‘द भ्वाइस’ रियालिटी शो सुरु गर्न लागेको छ । यस्तै नृत्य क्षेत्रमा रुचि राख्नेहरूका लागि पनि विभिन्न रियालिटी शो आयोजना भएका छन् । 

यस्तै संगीत फिल्मस्को आयोजनामा गतवर्षबाट सुरु भएको ‘संगीत स्टार’ यस वर्ष पनि सुरु भएको छ, जुन गायन तथा नृत्य विधामा भविष्य खोज्नेहरूका लागि लक्षित छ । ‘संगीत स्टार २०१८’ कोे केही जिल्लामा अडिसनसमेत सम्पन्न भइसकेको छ । 

लुकेर रहेका क्षमतावान् प्रतिभाहरूलाई ‘पर्फेक्ट आर्टिस्ट’ बनाउने उद्देश्यका साथ संगीत स्टारको दोस्रो संस्करण सुरु गरेको कार्यक्रम निर्देशक संगीत बस्यालले बताए । जसअन्तर्गत पुर्वी नेपालको विराटनगर, इटहरीसँगै चितवन, हेटौंडालगायतका ठाउँमा पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ । देशमा मुख्य मानिने १२ शहरमा अडिसन गर्ने घोषणासहित सुरु भएको संगीत स्टारको दोस्रो संस्करणमा अब पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, सिन्धुली, धनगढी, भैरहवा र काठमाडौंमा अडिसन हुन बाँकी छ । अडिसन हुन बाँकी उल्लेखित स्थानहरूका लागि मिति पनि तय हुने क्रम चलिरहेको बस्यालले बताए । 

४ वर्षदेखि ६५ वर्षका उमेर समूहका जोकोहीले सहभागिता जनाउनसक्ने संगीत स्टारका विभिन्न शहरमा हुने अडिसनबाट पहिलो चरणमा ३० प्रतिभालाई छनोट गर्ने र त्यसपछि एकअर्का शहरसँगको समन्वयमा ३० कै जोडघटाउका आधारमा प्रतिभाहरू छनोट गरिने आयोजकले बताएको छ । यसका बारेमा विस्तृत विवरण संगीत स्टार २०१८ को अफिसियल वेबसाइट र फेसबुक पेजमार्फत प्राप्त गर्न सकिनेछ ।

विजयीलाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाकसहित युकेमा हुने ग्राण्ड सांगीतिक कार्यक्रममा प्रमुख आकर्षकको रूपमा उपस्थित गराउने आयोजकले बताएको छ । नृत्य र गायन दुवै विधामा एकसाथ सुरु भएको अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र डान्सतर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रूपमा रहेका छन् । 


Views: 2