18th October | 2018 | Thursday | 12:30:18 PM

नयाँ वर्षमा दर्शकको ओइरो

गोपीकृष्ण चापागाईं   POSTED ON : Sunday, 15 April, 2018 (5:25:08 PM)

नयाँ वर्षमा दर्शकको ओइरो

काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै चैत तीसदेखि प्रदर्शनमा आएका दुई चलचित्र ‘नेप्टे’ र ‘लिलिबिली’ ले शनिबार उल्लेख्य दर्शकको साथ पाएका छन् । १ गते परेको सार्वजनिक बिदाका कारण पनि चलचित्रले देशभर हाउसफुलको व्यापार गर्न सफल भए । 

त्यसो त तुलानात्मक रूपमा प्रदीप खड्का र जसिता गुरुङ अभिनित ‘लिलिबिली’ ले धेरै हल पाएका थिए । नयाँ वर्ष दर्शकसँगै मनाउन शनिबार बिहानै प्रदीप र जसिता सहितको टोली काठमाडौंको अष्टनारायण हलमा पुगेका थिए । टोलीमा चलचित्रका निर्देशक मिलन चाम्ससहितका द्वय निर्माता गोविन्द शाही र सुदीप खड्का सहभागी भएका थिए । बिहानी शो हेरेर निस्किएका अधिकांश दर्शकले लभस्टोरी जनराको ‘लिलिबिली’ मन परेको प्रतिक्रिया दिए । कतिपय युवाहरूले भने प्रदीप र जसितासँग सेल्फी खिचाउन भ्याए । केही समय भिडका कारण सवारी साधन आवागमनमा समेत प्रभाव परेको थियो । चलचित्र हेरेर दर्शकले दिएको प्रतिक्रियाबाट हौसिएका प्रदीपले आगामी दिनमा छानेर गरेर मात्र चलचित्रमा काम गर्ने बताए । उनले थपे, ‘सफलतामा हृयाट्रिक गर्न ठूलो चुनौती थियो । आज दर्शकको माया र साथकै कारण त्यो पनि पूरा गर्न सफल भएको छु ।’ यता डेब्यु एक्ट्रेस जसिता पहिलो चलचित्रबाटै असीमित माया पाएकोमा दंग देखिन्थिन् । निर्देशक मिलन चाम्सले चलचित्र युके, स्कटल्यान्ड, टर्की जस्ता देशमा छायांकन गरेकाले पनि दुई सय टिकट तिर्दा विदेश घुमेर आएजस्तै महसुस दर्शकले गर्न सक्ने दाबी गरे । यही रप्mतारमा सातासम्म चलचित्र जाने हो भने ‘लिलिबिली’ का लागि लगाएको लगानी पूर्णरूपमा सेफ रहने निर्माता गोविन्द शाहीले बताए । यो टोली अष्टनारायण पश्चात गोङ्गबुमा रहेको बिएसआर हलमा पुगेको थियो । त्यसपश्चात टोली चावहिलमा रहेको गोपीकृष्ण हलमा दर्शक प्रतिक्रिया बुझ्न गएको थियो । गोपीकृष्णमा प्रदीप दर्शक घेराबन्दीमा परिहाले । उनलाई ४ सुरक्षा गार्डले हजारौं दर्शकको भीडमा सुरक्षा प्रदान गरेका थिए । 

त्यस्तै चलचित्र ‘नेप्टे’ ले पनि शनिबार अधिकांश हलमा हाउसफुलको व्यापार गर्न सफल भयो । देवकुमार श्रेष्ठ निर्देशित चलचित्रमा दयाहाङ राई पहिलो पटक खलनायक अवतारमा देखिएका थिए । दयाको जुन चरित्र दर्शकको लागि नौलो सावित भइदियो । रोहित रुम्बाको निर्माणमा तयार भएको चलचित्रले हलमा शोज कम पाउँदा केही दर्शक टिकट नपाएर फर्कनु परेको थियो । निर्माता तथा कलाकार रोहितले मिडियासँग दुखेसो पोख्दै हलवाला र वितरकको राजनीतिका कारण आफू मारमा परेको बताए । उनले हलमा शोज् कम दिएका कारण ‘नेप्टे’ हेर्न आउने कतिपय दर्शक टिकट नपाएका कारण ‘लिलिबिली’ हेर्न गएको तर्क गरे । करोडौं लगाएर चलचित्र बनाउने मेकरको पीडा बुुझिदिने कोही नभएको भन्दै उनले यो बखत साह्रै चित्त दुखेको प्रतिक्रिया दिए । दयाहाङ हल हल पुग्न नभ्याए पनि चलचित्रका कलाकार बुद्धि तामाङ भने शनिबार दिउँसो भर विभिन्न हल पुगेका थिए । उनले चलचित्र हेरेर दर्शकले पूर्णरूपमा मनोरञ्जन लिएको जानकारी दिए । सामाजिक कमेडी जनराको ‘नेप्टे’ मा दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, अर्जुन गुरुङ, अरुणा कार्की लगायतको अभिनय रहेको छ । 


Views: 5