23rd July | 2018 | Monday | 11:04:17 PM

साकेला सिली प्रतियोगितामा रतन्छा पहिलो

चिसाङ शेर्पा   POSTED ON : Sunday, 15 April, 2018 (6:06:12 PM)

साकेला सिली प्रतियोगितामा रतन्छा पहिलो

खोटाङ । जिल्लाव्यापी साकेला सिली प्रतियोगितामा किरात राई यायोख्खा रतन्छा पहिलो भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित ‘नुनथला युवा सेवा समाजले जालपा माविको प्राङ्गणमा शनिवार साँझ सकिएकोे साकेला सिली नाच प्रतियोगितामा ‘मछामा–बेसारा,व्याप्लती’ सिली प्रस्तुतीवाट साकेला गाउँपालिका–२ रतन्छा पहिलो भएको हो ।

‘पेर्पा खाशिमा’ सिली प्रस्तुतीवाट साकेला सिली समुह हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान दोश्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा जनचेतना आधारभुत विद्धालय बिचगाउँ तेश्रो र ‘चावा’ सिली प्रस्तुतीवाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवु सान्त्वना भएको छ ।

‘कला र संस्कृती हाम्रो पहिचान, जर्गेना गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथमा युवा सेवा समाजले आयोजना गरेको कार्यक्रममा सामुहिक लोक नृत्य प्रतियोगितातर्फ वेदना सहयोगी समाज महुरे पहिलो, जनचेतना आधारभुत विद्धालय बिचगाउँ बुईपा दोश्रो, साविक नुनथला ६ खाम्ला तेश्रो तथा साविक नुनथला ७ लुकुवा सान्त्वना भएका समाजका सचिव जयन राईले जानकारी दिए ।

विभिन्न सहयोगीदाताहरुको सहयोगमा नयाँवर्ष २०७५ सालको स्वागत गर्दै मनाईएको साकेला सिलीतर्फ ७ समुह र सामुहिक लोक नृत्य प्रतियोगितातर्फ दश समुहले सहभागिता जनाएको थियो । साकेला सिली नृत्यका विजयी टिम समुहले क्रमशः २० हजार, १५ हजार, १० हजार र सान्त्वनाले नगद रु ५ हजारका साथमा प्रमाणपत्र पाएका छन् ।

सामुहिक नृत्य प्रतियोगिताका पहिलो टिम समुहले ५ हजार, द्दितीयले ४ हजार, तृतियले ३ हजार र सान्त्वना समुहले रु २ हजार नगद पाएका थिए । उत्कृष्ट तामाङ सेलो नृत्यमा ‘ला ज्यालो वाङ थोप’ नुनथलाले ५ हजार प्रोत्साहन सहयोग पाएका छन् । विजयी समुहलाई प्रमुख अतिथि तथा नुनथलाका वडाध्यक्ष भीम राई, बिशेष अतिथी सुन्दरलाल तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।