23rd July | 2018 | Monday | 11:21:10 PM

एउटा यस्तो प्रेम कहानी शुभमुहूर्त

हिमालय टाइम्स   POSTED ON : Monday, 16 April, 2018 (8:19:05 PM)

एउटा यस्तो प्रेम कहानी शुभमुहूर्त

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ठूलदाईको उपनामबाट चिनिएका अभिनेता शिव श्रेष्ठले निर्माण गर्ने भनिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शुभमुहूर्त गरिएको छ । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा चलचित्रको मुहूर्त गर्दै चलचित्रका घोषणा गरिएको हो । 

समारोहमा उपराष्ट्रपति पुनले अहिलेसम्मका चलचित्रभन्दा फरक र राम्रो बनोस् भन्दै शुभकामना दिए । दिपेश सापकोटाले निर्देशन गर्ने यो चलचित्रमा अभिनेता श्रेष्ठका अष्ट्रेलिया बस्दै आएका छोरा शक्ति श्रेष्ठको पनि अभिनय रहनेछ । यसै चलचित्रबाट उनले डेब्यू गर्न लागेका हुन् ।

चलचित्रमा सिंगापुरका मार्शल आर्ट च्याम्पियन प्रभु श्रेष्ठलाई नेपाल झिकाइएको छ । यस चलचित्रमा उनले पनि काम गर्ने बताइयो । यसैकारण अन्य चलचित्रमा भन्दा यस चलचित्रमा द्वन्द्व केही फरक देख्न पाइने बताइएको थियो । यस्तै दर्जनौं हिन्दी चलचित्रमा काम गरिसकेका नवराज विक पनि चलचित्रमा खलनायकको भूमिकामा रहने जानकारी गराइयो । 

डिआइजीको भूमिकामा भने बहालबाला डिआइजी पवन खरेल नै रहेकाले चलचित्र प्रेमीहरूबीच उत्साहको सञ्चार भएको बताइन्छ । यो फिल्म आउँदो भदौमा रिलिज हुने निर्माण युनिटले जनाएको छ । चलचित्रका कथा, प्रस्तुतकर्ता एवं निर्माता शिव श्रेष्ठ स्वयं रहेका छन् भने अन्य मुख्य निर्माताहरूमा दिनेश दर्शनधारी, यशोदा राई रहेका छन् । यसैगरी सहनिर्माताहरूमा सुनिल कट्वाल, दिनेश थापामगर, खुम तामाङ, सुजन गौतम, रामनारायण शाह र निर्देशक तथा फोटोग्राफीमा सुशन प्रजापति रहेका छन् । 

एक महिनामै सुटिङ सकेर आउँदो भदौमा रिलिज गर्नेगरी काठमाडौं, मकवानपुर, जनकपुर, वीरगन्ज, संखुवासभा र विदेशमा समेत सुटिङ गरिने बताइएको छ । ६ वटा गीत रहेको उक्त चलचित्रमा अर्जुन पोखरेल, वसन्त सापकोटा र सन्तोष रजौरेलगायत तीनजना संगीतकारले संगीत दिने भएका छन् । त्यस्तै, कविराज, गहतराज, वसन्त श्रेष्ठ, गोविन्द राई र कमल राईलगायत चारजना नृत्य निर्देशक रहने निर्माण टिमले जनाएको छ । दक्षिण भारतमा समेत ख्याति कमाएका युवा रोशन भट्टराई द्वन्द्व निर्देशक रहेका छन् । आनन्द कार्की, अन्जु पन्त, विश्व नेपाली, विष्णु चेम्जोङ, सन्तोष रजौरे र मीना निरौलाको स्वरमा गीत सुन्न पाइने बताइएको छ । 

मुख्य कलाकारमा प्रियांका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, सन्जोग कोइराला, रेखा फागो, ध्रुव कोइराला र बसुन्धरा भुसाल र शिवानी गिरीलगायत दर्जनौं चर्चित अनुहार देख्न पाइने बताइएको छ ।