21st September | 2018 | Friday | 12:09:30 PM

युब्ट्यूब ट्रेन्डिङमा नेपाली फिल्म

हिमालय टाइम्स   POSTED ON : Monday, 16 April, 2018 (8:24:53 PM)

युब्ट्यूब ट्रेन्डिङमा नेपाली फिल्म

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा निर्माताहरूले निकै ध्यान दिन थालेका छन् । यसले गर्दा नेपाली चलचित्र हेर्ने दर्शक बढ्दोक्रममा छन् । कुनैबेला नेपाली चलचित्रभन्दा हलमा त हिन्दीनै हेर्नुपर्छ भन्ने दर्शक पनि पछिल्लोसमय नेपाली चलचित्रको निर्माण प्रभावले गर्दा नेपाली चलचित्रमा मन गएको देखिन्छ । 

सातैपिच्छे दुई चलचित्रभन्दा बढी प्रदर्शन भइरहेका बेला युट्युबमा पनि चलचित्र छिट्टै अपलोड हुन थालेका छन् । कुनैसमय प्रदर्शन भएको तीनदेखि चारवर्षसम्म पनि चलचित्र युट्युबमा अपलोड गरिदैनथ्यो तर अहिले त्यो समय बदलिएको छ । अहिले प्रदर्शन भएको वर्षदिन नपुग्दै पनि चलचित्र युट्युबमा आउन थालेका छन् त्यसले नेपाली दर्शकमा चलचित्र हेर्ने बानीको विकास हुँदै गएको छ । 

यसैबीच नयाँ वर्ष २०७५ को अवसर पारेर नेपाली चलचित्रहरू युट्युबमा अपलोड गरिएको छ जुन दुईदिन पनि नबित्दै नेपालको युट्युब ट्रेन्डिङमा लाइन लागेर बसेका छन् । दुईदिन अघिमात्रै चलचित्र ‘कारखाना’ र ‘पुरानो डुंगा’ अपलोड भए । यी दुई चलचित्र युट्युबमा आएको २४ घण्टामै शीर्षस्थानमा आएर बसेका छन् । आइतबार साँझसम्मको कुरा गर्दा चलचित्र ‘कारखाना’ नेपाली युट्युबको पहिलो स्थानमा छ भने ‘पुरानो डुंगा’ दोस्रो स्थानमा छ । ‘पुरानो डुंगा’ लाई ११ लाख पटक हेरिसकिएको छ भने ‘कारखाना’ ८ लाख सबैभन्दा बढी पटक हेरिएको देखिन्छ । यस्तै युट्युबको तेस्रो ट्रेन्डिङमा चलचित्र ‘पर्व’ बसिरहेको छ । एकदिन अघिमात्रै युट्युबमा अपलोड गरिएको यो चलचित्रलाई पनि ४ लाखभन्दा बढीपटक हेरिसकिएको छ । यस्तै एकसाता अघि अपलोड गरिएको चलचित्र ‘रानी’ पनि तीनदिन युट्युब ट्रेन्डिङको पहिलोस्थानमा बसेर अहिले ओरालो लागेको छ । अहिले ‘रानी’ छैठौं स्थानमा छ ।

नेपाली चलचित्रका गीत तथा ट्रेलर सार्वजनिक भएको अर्कोदिन पनि युट्युबको ट्रेन्डिङमा आएको देखिन्छ । यसले नेपाली चलचित्रका दर्शकले नेपाली चलचित्रमा रुचि देखाएको बुझ्न सकिन्छ । त्यसो त नेपाली युट्युब ट्रेन्डिङमा विदेशका चलचित्र पनि नआएका होइनन् तर पछिल्लोसमय नेपाली चलचित्र युट्युबमा छिटो अपलोड हुँदा दर्शकको रुचि नेपाली चलचित्रमा बढ्दै गएको पाइन्छ । अहिले नेपाली युट्युबको ट्रेन्डिङमा नेपाली चलचित्रसँगै नेपाली टेलिसिरियल र मिस नेपाल २०१८ शृंखला खतिवडाको विषयले स्थान पाइरहेको छ ।


Views: 0

सम्बन्धित सामग्री:

कलाकार सिंगार्ने कविता

: Thursday, 20 September, 2018 (10:11:50 PM)