22nd September | 2018 | Saturday | 1:02:43 AM

‘चंगा’को ‘कम्पनी माला’ सार्वजनिक

  POSTED ON : Tuesday, 17 April, 2018 (2:07:11 PM)

‘चंगा’को ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौं । आउँदो जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चंगा’ को ‘कम्पनी माला’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । लोकलयको उक्त गीतमा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् भने गीत राजेन्द्र थापाले लेखेका हुन् । गीतमा संगीतकार राजनराजले नै स्वर दिएका छन् भने उनलाई अन्जु पन्तले साथ दिएकी छिन् । गीतको भिडियो राजधानीको टोखास्थित भूतखेलमा छायांकन गरिएको हो । गीतको भिडियोमा चलचित्रका सबैजसो मुख्य कलाकार अटाएका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त भिडियोमा सयबढी कोरसको प्रयोग गरिएको छ । किशोर भण्डारी ‘डिट्ठासाब’ निर्देशित यो चलचित्रमा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमवर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी मुख्य भूमिकामा छन् ।

गीतको छायांकनको क्रममा निर्देशक भण्डारीले यस गीतबाट ठूलो आशा लिएको बताएका थिए । पछिल्लो समय चलचित्रको बारेमा दर्शकसमक्ष जानकारी पु¥याउने माध्यम पनि गीत बनेकोले गीत निर्माणकै लागि निकै दुःख गरेको बताएका थिए । ‘हामीले गीतका लागि धेरैै खर्च पनि गरिसकेका छौं, गीत राम्रो बनाउनका लागि कुनै पनि कन्जुस्याइँ छैन’, भण्डारीले हिमालय टाइम्ससँग कुरा गर्दै भनेका थिए । यस्तै चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डेले पनि गीत निर्माण गर्दै जाँदा कोरियोग्राफरले भनेबमोजिमका सामग्रीको व्यवस्था गरिदिएको बताएका थिए । उनले चलचित्र हास्यशैलीमा निर्माण भएकाले दर्शकले मन पराउनेमा पूर्ण आशावादी रहेको बताए ।

चलचित्रमा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ भने क्यामेरा रविन आचार्यले चलाएका छन् । निर्देशक भण्डारीकै कथा समावेश चलचित्रको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् ।


Views: 0