18th August | 2018 | Saturday | 12:40:50 PM

निर्माता सघं र चलचित्र संघबीच सहमति

हिमालय टाइम्स   POSTED ON : Tuesday, 15 May, 2018 (2:09:21 PM)

निर्माता सघं र चलचित्र संघबीच सहमति

हिमालय टाइम्स

काठमाडौं । केही समय अघिदेखि विवाद रहँदै आएको चलचित्र चलचित्र निर्माता संघ र चलचित्र संघबीच सहमति जुटेको छ । शेयर बाडफाटको विषयमा आइतबार साँझ सहमति जुटेको सोमबार पत्रकार सम्मेलन गर्दै दुई संघले  जानकारी गराएका छन् । १८ बुँदामा २ वर्षका लागि सम्झौताका शर्त सार्वजनिक गरिएको छ । चलचित्र संघ र निर्माता संघद्वारा जारी विज्ञप्तीमा अब सिनेमा हलले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर, ब्यानर, पोष्टर र स्ट्याण्डीसमेतको प्रचार सामग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने सम्झौता भएको उल्लेख गरेका छन् । मल्टिप्लेक्सले शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शनपश्चात वितरकले भ्याटबिल जारी गरेको दुई हप्ताभित्र अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने, सिंगल स्टेशनको हकमा फिल्म उत्रेको दुई हप्ताभित्र भुक्तानी दिनुपर्ने अन्यथा उक्त अवधिभित्र भुक्तानी नभएमा निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलले गरेको निर्णयअनुसार हर्जानासहित कारबाहीसमेत गरिने सम्झौता भएको छ । 

निर्माता र प्रदर्शकबीच मल्टिप्लेक्स हलहरूले नेट शेयर बाँडफाँट पहिलोहप्ता ५० प्रतिशत, दोस्रोहप्ता ४५ प्रतिशत, तेस्रोहप्ता ४० प्रतिशत, चौथो हप्तादेखि ३५ प्रतिशत वितरक (निर्माता) ले पाउने सम्झौता भएको छ । सिंगल हलको हकमा भने नेट शेयर बाँडफाँट ५०÷५० प्रतिशतको आधारमा हुनेछ । यस्तै काठमाडौं उपत्यका भित्रका चलचित्र हलमा टिकट दर २५० अथवा ३ वा ३ भन्दा बढी सिनेमा हल रहेको सिनेमा घरलाई मल्टिप्लेक्सको मान्यता दिइने र उपत्यका बाहिरको हकमा टिकट दर दुई सय अथवा ३ वा ३ भन्दा बढी सिनेमा हल रहेको सिनेमा घरलाई मल्टिप्लेक्सको मान्यता दिइने संयुक्त जारी विज्ञप्तीमा उल्लेख छ ।