22nd September | 2018 | Saturday | 7:05:42 PM

बलिउड फिल्ममा अनमोल

हिमालय टाइम्स   POSTED ON : Thursday, 07 June, 2018 (12:52:54 PM)

बलिउड फिल्ममा अनमोल

हिमालय टाइम्स

काठमाडौं । नेपालका युवास्टार अनमोल केसीले बलिउडमा प्रवेश गर्ने भएका छन् । वल्र्ड वाइड रेकडस् नामको भारतीय म्युजिक कम्पनीले निर्माण गर्ने चलचित्रका लागि अनमोल अनुबन्ध भएका हुन् । सो कम्पनीका प्रमुख रत्नाकार कुमारले अनमोल र भुवन केसीसँग केही दिनअघि सम्झौता गरेका छन् । अनमोलले ‘ए मेरो हजुर ३’ र ‘ब्याचलर बन्टी’ भन्दा अगाडि नै यो चलचित्र साइन गरेका हुन् ।

बलिउड चलचित्र भए पनि निर्देशन भने नायक केसीले गर्नेछन् । भुवनले यस विषयमा चलचित्र बलिउडकै भएको प्रष्ट पारेका छन् । ‘यो बलिउड चलचित्र हुनेछ, हामीले यसलाई नेपाली र हिन्दी भाषामा डब गर्नेछौं’, केसीले भने । चलचित्रको छायांकनको समयमा पनि कलाकारले दुवै भाषामा संवाद बोल्ने केसीले बताए । अनमोलले अभिनय गर्ने उक्त चलचित्रको नाम भने तय भइसकेको छैन । 

अनमोलले यो चलचित्रका लागि निकै महँगो रकम लिएको चर्चा छ । तर, भुवनले अहिले नै पारिश्रमिकका बारेमा केही खुलाउन चाहेनन् । चलचित्रको सुटिङ अगामी फागुन १५ गतेबाट सुरु हुने बताइएको छ । चलचित्रका लागि एकजना नायिका भारतबाट खोजिने र एकजना नेपाली नायिका हुनेछिन् । चलचित्रका लागि बलिउडका कलाकार ज्याकी श्राफसँग कुरा भइरहेको छ ।

प्रेमकथामा निर्माण हुने यो चलचित्रका लागि प्राविधिक र छायांकन सामग्री भारतबाटै ल्याइने केसीले जानकारी दिए । यस चलचित्रलाई विश्वका ७४ वटा देशमा एकसाथ रिलिज गरिने बताइएको छ । अनमोलले यस विषयमा आफ्ना फ्यानलाई फेसबुकमार्फत जानकारी दिइसकेका छन् । उनले फेसबुकमा ‘टिकेट टू बलिउड’ भन्दै उक्त समाचारको स्क्रिनसट शेयर गरेका छन् ।


Views: 1