24th June | 2018 | Sunday | 8:59:04 PM

बाँदरलाई हिरो बराबरको पारिश्रमिक !

हिमालय टाइम्स   POSTED ON : Sunday, 10 June, 2018 (5:49:36 PM)

बाँदरलाई हिरो बराबरको पारिश्रमिक !

काठमाडौं । चलचित्र ‘वीरांगना’ आगामी असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । चलचित्र टिमले प्रचारप्रसारको काम सुरु गरेको छ । चलचित्रको एक गीत र पोष्टर सार्वजनिक गरेसँगै टिमले प्रमोशनको काम सुरु गरेको हो । चलचित्रको ट्रेलर भने सार्वजनिक भइसकेको छैन । 

बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र टिमले चलचित्रका बारेमा जानकारी गरायो । प्रेम र एक्शनको कथामा निर्माण गरिएको यो चलचित्रमा बाँदर र घोडाको पनि भूमिका भएकाले दर्शकका लागि विशेष हुनसक्छ । निर्माण टिमले पनि बाँदर र घोडाका लागिमात्र पनि ठूलो पारिश्रमिक दिएर चलचित्रमा ल्याएका छन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्मातामध्येका एक बाबुराम दास थापाले नायक बराबरकै पारिश्रमिक बाँदरलाई तिरेको बताए । उनले यति नै भनेर रकम नतोकेपनि चलचित्रका लागि निकै महंगा रकम बाँदरका लागि तिरिएको बताएका हुन् । ‘हामीले चलचित्रमा प्रयोग गरिएको बाँदरलाई ठ्याक्कै यति नै तिरियो भन्न मिल्दैन तर यति बुझ्नूस् कि नायक बराबरको रकम बाँदरलाई दिएका छौं,’ निर्माता थापाले भने । यस्तै, चलचित्रका लेखक तथा निर्माता राजबहादुर सानेले पनि चलचित्रमा बाँदर र घोडाको प्रयोग गर्दा कलाकारले धेरै दुःख व्यहोर्नु परेको सुनाए । ‘नायिका शिल्पा पोखरेलज्यूलाई कति पटक त बाँदरले झम्टिएको छ, डरै डरका बीच शिल्पाज्यूले छायांकन सक्नुभयो,’ उनले भने । नायिका शिल्पाले छायांकनको पल सम्झँदा अहिले पनि डरलागेको बताउँछिन् । ‘छायांकनको केही दिन त मायालु तरिकाले बाँदर पनि काम गरिरहेको थियो तर हाम्रै टिमका एकजना केटी साथीसँगको एकसिन पछि के भएछ खै, केटी देख्नेबित्तिकै झम्टिहाल्थ्यो, त्यसपछि निकै गाह्रो बनायो’, शिल्पाले छायांकनको समय सम्झिँदै भनिन् । 

चलचित्रमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास थापा, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । ‘वीरांगना’ र्फोथ आई मुभिज्को ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा शिल्पासँगै अनुपविक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोइराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बिके फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।