16th December | 2018 | Sunday | 10:50:43 AM

कस्ता रहे बुद्धिका दुई चलचित्र

हिमालय टाइम्स   POSTED ON : Sunday, 10 June, 2018 (5:53:23 PM)

कस्ता रहे बुद्धिका दुई चलचित्र


काठमाडौं । गत शुक्रबारबाट दुई चलचित्र ‘मट्टिमाला’ र ‘चंगा’ प्रदर्शनमा आए । अभिनेता बुद्धि तामाङका यी दुवै चलचित्रमा मुख्य भूमिका छ । कुनै समय सहअभिनेताका भूमिकामा थुप्रै चलचित्रमा देखिने बुद्धिले अब भने मुख्य भूमिकामा चलचित्र पाउन थालेका छन् । 

टेके पौरखी राई निर्देशित ‘मट्टिमाला’ मा बेरोजगार युवाले नेपालमा भोग्नुपरेको कथालाई उठाइएको छ । पौरखी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले प्रदर्शनको पहिलो र दोस्रो दिन मध्यम दर्शक कमायो । चलचित्रले शुक्रबारभन्दा शनिबार दर्शक बढी पाएको थियो तर अन्य सातामा प्रदर्शनमा आएका चलचित्र भन्दा यो चलचित्रमा दर्शकको संख्या भने निकै कम हो । चलचित्र हेर्न क्युएफएक्स सिनेमा हलहरूमा भन्दा सिंगल थिएटरमा दर्शकको संख्या बढी थियो । चलचित्र ‘मट्टिमाला’ हेरेका दर्शकले चलचित्रका बारेमा राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्रमा बुद्धिको कमेडीले पनि दर्शकलाई चलचित्रको समयसम्म बाध्न सक्छ । यस्तै, बुद्धिसँग रजनी गुरुङको मुख्य भूमिका छन् । हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा जोडीको रुपमा देखिएका यी दुई कलाकार मट्टिमाला’ मा पनि जोडीकै रुपमा छन्, सिरियलमा निकै रुचाइएको जोडी चलचित्रमा पनि देखिँदा चलचित्रका लागि फाइदा पुग्ने देखिन्छ । यस्तै अर्का मुख्य पात्र नेपाली टोनी जाको नामले परिचित मार्शल आर्ट र मुईथाई खेलाडि चिरन राईको काम पनि निकै राम्रो छ । उनको काम पनि धेरैले मन पराएका छन् । दुई घण्टा १५ मिनेटको ‘मट्टिमाला’ मा अधिकांश नयाँ कलाकार भएकाले पनि धेरै दर्शकको रोजाइमा पर्न सकेन तर जतिले चलचित्र हेरेका छन् राम्रो प्रतिक्रिया दिएका छन् । 

चलचित्रमा बुद्धि तामाङ, चिरन राई, रन्जिता गुरुङ, संज्ञा श्रेष्ठ, प्रियंका कार्की, पृथ्वी राईलगायतको अभिनय रहेको छ । चलचित्रको संगीत सुमन राईले गरेका छन् भने संगीतकार स्वयं सुमन राई, गायिका बबिना किराती, गायिका अमृता लिम्बु, सुन्दर लामा, आनन्द राई, संगीता थापा र विक्रम राईले गीतमा स्वर दिएका छन् । गीतको शब्द रचना भने चर्चित गीतकार जानु काम्वाङ लिम्बू, रोशन भट्टराई, सांगे ब्लोन तामाङको रहेको छ । चलचित्रका निर्माता पृथ्वी राई चलचित्रमा खलनायकको भूमिकामा छन् । संगै प्रदर्शनमा आएको अर्को चलचित्र ‘चंगा’ मा पनि दर्शकको संख्या उल्लेख्य छैन । प्रदर्शनको दुईदिनसम्म मध्यम दर्शकको कमाएको यो चलचित्रमा शुक्रबार भन्दा शनिबार दर्शकको संख्या बढी देखिन्थ्यो । फरक कथामा निर्माण भएको यो चलचित्रमा बुद्धिको भूमिकाको बारेमा चलचित्र हेरेका दर्शक जतिले राम्रो प्रतिक्रिया दिएका छन् । बक्स अफिसमा ब्यापार गरेको तुलनामा चलचित्रको सफलता मापन गर्नेहो भने सफलता मान्न सकिँदैन तर हेरेका जति दर्शकबाट आएका राम्रा प्रतिक्रियाले भने निर्माण टिमलाई खुसी बनाउँछ । 

किशोर भण्डारी ‘डिठ्ठासाब’ निर्देशित यो चलचित्रमा बुद्धिसँगै कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमवर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको अभिनय छ । चलचित्रमा राजनराज सिवाकोटी, कमल खत्रीको संगीत छ भने क्यामेरा रविन आचार्यले चलाएका छन् । निर्देशक भण्डारीकै कथा समावेश चलचित्रको निर्माता कलाकारसमेत रहेकी रेश्मा नै हुन् । चलचित्रका कार्यकारी निर्माता भने प्रकु पाण्डे हुन् ।


Views: 12