19th October | 2018 | Friday | 8:45:45 PM

हमालले नयाँ फिल्म गर्ने

हिमालय टाइम्स   POSTED ON : Monday, 11 June, 2018 (4:09:50 PM)

हमालले नयाँ फिल्म गर्ने

काठमाडौं । अभिनेता राजेश हमालले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । आफ्नो ५४ औं जन्मदिनको अवसर पारेर हमालले नयाँ चलचित्रका लागि सम्झौता गरेका हुन् । 

दिनेश श्रेष्ठले निर्देशन गर्ने चलचित्र (नाम नखुलाइएको) मा उनी अनुबन्धित भएका हुन् । हमालको पछिल्लो चलचित्र ‘सकुन्तला’ हो जसमा उनीले तेस्रो लिंगीको अभिनयसमेत गरेका थिए । तर चलचित्रले राम्रो व्यापार गर्न सकेन । ‘सकुन्तला’ पनि दिनेशले नै निर्देशन गरेका थिए । 

हमालले गत शनिबार दिउँसो आफ्नै निवासमा जन्मदिन मनाउँदै आफ्ना फ्यानहरूका लागि खुशीको खबर सुनाएका हुन् । चलचित्रका निर्देशक श्रेष्ठ र निर्माता शिवराज कार्कीबाट उपहारस्वरूप प्राप्त केक काट्दै अभिनेता हमालले आफू नयाँ फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन् । 

निर्देशक श्रेष्ठका अनुसार हमाललाई यो चलचित्रमा निकै फरक भूमिकामा देख्न पाइनेछ । यसै चलचित्रका लागि विगत ७ महिना देखि स्क्रिप्टका लागि काम भइरहेको उनले बताए । चलचित्रमा हमालसँगै चार अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । अभिनेत्रीको भने खोजी भइरहेको छ । हाल दुई नायिकासँग छलफल चलिरहेको निर्देशक श्रेष्ठले बताए । अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्की उक्त फिल्मको निर्मातामा रहनेछन् । चलचित्रको छायांकन भने तिहारपछि गरिने जानकारी दिइएको छ । 


Views: 6